Tuesday, February 2, 2010

नगरमुखी अपराध (Urban Crimes in Nepal)

 -सफल घिमिरे
राजधानीमा भौतिक समृद्धिसँगै हिंसा र बर्बरता पनि बढेको छ । ख्याति श्रेष्ठ, विवेक लुइँटेल र आशिष-रितेश हत्याकाण्ड, जहाँगिर शेख हकिकतको नक्कली नोट र युनुस अन्सारीको लागूऔषध प्रकरण त पछिल्ला केही उदाहरणमात्रै हुन्। प्रहरीकै तथ्याङ्कअनुसार गत मंसिर महिनाका मुलुकभरका आपराधिक घटनामध्ये २२.८४ प्रतिशत राजधानीमै भएका थिए। तर, नागरिक सुरक्षाजस्तो महत्वपूर्ण विषयको अध्ययन र अन्वेषणमा महत्व र समय दिइएकै छैन। गृह प्रशासन लट्ठी र बन्दुकको शास्त्रीय सुरक्षा पद्धतितिरै रुमल्लिएको छ।


राजधानी र अपराध

अरू ठूला सहरमा झैँ यहाँ पनि महानगरीय प्रहरी छ। सुरक्षामा लाखौँको बजेट विनियोजन भएको छ। ठाउँ-ठाउँमा सीसीटीभी जडान गरिएका छन्। प्रहरीसँग भौगोलिक सूचना प्रणाली (जिआइएस) र भूमण्डलीय स्थानाङ्कन प्रणाली (जिपिएस) सम्मको प्रविधि छ। दर्जनौ प्रहरी भ्यान दौडिरहेका हुन्छन्। तैपनि राजधानीमा असुरक्षित। किन?

प्रहरीसम्बन्धी आलेखहरूमा 'कानुनले तोकेका काम नगर्नु वा नतोकेका काम गर्नु' लाई अपराध भनिएको छ। तर अपराधशास्त्री सुकुमार बोसले यसलाई निश्चित 'उद्देश्यप्राप्तिको रणनीति' भनेका छन्। यसरी अपराध उद्देश्य प्राप्तिको लागि प्रथम रोजाइ बन्छ वा अन्तिम सहारा भन्नेमा थुप्रै मनोवैज्ञानिक बहसहरू छन्। तिनले अपराधलाई शास्त्रीय र आधुनिक दुई धारमा हेरेका छन्। शास्त्रीय धारमा अपराधलाई नैतिक गल्ती मानिन्छ, आधुनिक धारमा भने गलत रूपमा बुझिएको नैतिकता। यिनै धारमा रही हामी नगरमुखी अपराधको सेरोफेरोलाई विश्लेषण गर्न सक्छौँ।

विषयगत विश्लेषण

अचेल संगठितसाथै व्यावसायिक अपराधीले पनि साना हतियार बढी प्रयोग गरेको भेटिएको छ। यस्तो प्रवृत्ति स्कुले विद्यार्थीले गर्ने अपराधमा पनि देखिएको छ। टेलिभिजनका हिंसात्मक दृश्यले बालबालिकामा दुष्प्रभाव पारेका छन्। यो प्रर्वत्ति नेपालमा देखिन थालेको छ। गत वर्षको आशिष-रितेश हत्याकाण्ड यसैको लक्षण हो।

अन्तर्राष्ट्रिय सञ्जालमा राजधानीको सहज पहुँच, राजनीतिक तरलता एवम् र फितलो प्रशासनले अपराधीाई सजिलो हुन्छ। अपराधबाट सजिलै आर्जेको रकम लागुऔषध व्यापार, मानव तस्करी, ठूलो मात्राका जुवा र अवैध ओसारपसारजस्ता कालोबजारीमा लगानी हुन्छ। साथै शृंखलाबद्ध हत्यारा (सिरियल किलर), दंगाकारी र ठूला लुटेरालाई सञ्चार माध्यमले प्राथमिकता र अतिप्रचार दिँदा पनि आपराधिक गतिविधि दुरुत्साहित हुन पुग्छ।

उपयुक्त रेखदेख नपाउँदा किशोरावस्थामा युवा अपराधमा फस्न सक्छन्। फलतः मोटो रकमको लालसामा लागूऔषधीय कारोवार एवम् रकम लुट्ने प्रवृत्तिमा तिनको संलग्नता रहन्छ। जीविकाको असुरक्षा र राज्यबाट पाउनुपर्ने हेरचाह नपाउँदा सहरी जनसंख्याको एक हिस्सा संकटमा पर्छ। यस वर्गमा आपराधिक प्रवृत्ति छिटो फस्टाउँछ।

अपराध बढाउने धन हो कि गरिबी भन्ने विवाद छ। धनीहरूले अपराधमा लागि लगानी गरेका हुन्छन्। कुनै कुनै अवस्थामा विपन्नहरूलाई अपराध गर्न वा सहन बाध्य पारिएको हुन्छ । यसैले अपराधको आर्थिक आयामको पनि विश्लेषण हुनुपर्छ।

प्रहरी ऐन २०१२ अनुसार नेपाल प्रहरीले अपराध अनुसन्धान र नियन्त्रण, ट्राफिक व्यवस्थापनका साथै नागरिक सुरक्षासम्बन्धी जिम्मेवारी थामेको छ। तर प्रहरीले वर्षौँदेखि स्रोतको अभाव, प्राविधिक अड्चन, राजनीतिक तरलता, अधिकार विनियोजनका कमजोरी जस्ता सुरक्षा कमजोरी औँल्याउने गरेको छ। प्रहरीभित्रै भेदभाव र असमानतजस्ता विसंगति रहेको २०६५ असार २८ मा भएको नेपालगञ्जको प्रहरी विद्रोहले देखाएको छ।

ग्रामीण कृषिबाट नगरमुखी विकासमा जाने संक्रमणकालमा थुप्रै समाज अपराधका उर्वरभूमि बनेका छन्। यस अवधिमा अपराधका 'आकर्षक' र 'विकर्षक' तत्व छरपस्टै भेटिन्छन्। यसैगरी सहरका धेरै स्थानलाई अपराधका उत्प्रेरक तत्वले 'हट स्पट्स' बनाएका हुन्छन्। यी सबै परिस्थितिको व्यवस्थापनमा प्रहरी सेवाको सुधार तथा पुनर्संरचना पहिलो खाँचो बन्छ। यसपछि न्यायिक तथा अर्धन्यायिक संघसंस्था, तालिम संस्था, विद्यालय, कलेज, विश्वविद्यालय, व्यापार संस्थान, व्यावसायिक गृह, सरकारी, गैरसरकारी एवम् नागरिक समाजका सरोकारवालाबीच गहन बहस थाल्नुपर्छ। पूर्वाधार सुविधा तथा वैज्ञानिक प्रयोगशालासहितको सुव्यवस्थित अनुसन्धान प्रणालीले प्रहरी अनुसन्धानलाई सहज पार्छ। प्रहरी सामरिक नभई नागरिक सुरक्षासम्बन्धी निकाय हो। यसलाई हतियारभन्दा पनि अनुसन्धानमै अब्बल बनाउनुपर्ने हुन्छ। यसैगरी दण्डहीनताको अन्त्य र अक्षमताको निराकरण पनि अपराध नियन्त्रणको अविभाज्य पाटो हो।

कानुनी तथा मानवतावादी दृष्टिबाटमात्र अपराधको विवेचना पर्याप्त हुँदैन। यसको विविध पक्षको अन्तर्विषयक विश्लेषण जरुरी हुन्छ। होइन भने, अहिले प्रस्तावित १० हजार थप प्रहरीको दरबन्दीले मात्रै राजधानीको अपराध नियन्त्रण हुन सत्तैन। हाम्रो तयारी कतिसम्म छ त? प्रश्न अझै अनुत्तरित छ।

(This article is first published in Nagarik National Daily of January 29, 2009 (http://www.nagariknews.com/opinions/98-opinion/9717-2010-01-29-00-41-01.html) under the title 'नगरमा अपराध': Photo courtesy: www.ekantipur.com)

No comments: