Friday, April 30, 2010

प्रिय प्रचण्डलाई पत्र... (A Letter of a Nepali Citizen to Comrade Prachanda)

[Published in the Nagarik National Daily on 29 April, 2010]
-सफल घिमिरे

आत्मीय दाजु प्रचण्ड,
तिमीलाई यो पत्र लेखिरहँदा पर जुगल हिमालमा एक धर्र्सो घामको किरण देखिएको छ । बिहानीको संकेत दिँदै बासेको भालेको डाक म स्पष्टै सुन्न सक्छु । तिमी र म एउटै उपत्यकाभित्र हुनाले यो तिमी पनि भोग्दैछौ होला । तर सुन्दैछु पश्चिमतिर लाठि प्रशिक्षण चल्दैछ रे, अनि पूवतिर खुकुरी तालिम । यत्ति भन्न पत्र कोर्दैछु कि मध्याहृनमै रात पर्ला भनी नडराऊ । म छु । तिमी छौ । यति धेरै नेपाली छन् जसले यो दिन देख्न कति रगत पसिना बगाएका छन् । घर भित्रिसकेपछि सिँगार्नतर्फ लाग्नुपर्छ दाजु । भत्केको देखेर जस्केलो खोज्न होइन ।

दाजु ! यो हप्तैभरि अखबारका पाना भाटा समाएका युवाका तस्विरले भरिएको छ । रेडियो र टेलि-भिजनले पनि त्रासैत्रासको खबर ओकलेका छन् । संविधान लेख्न भनी जनताले भोट हालेका थिए । तर शान्तिका लागि चुनिएका तिनै सभासद्ले अहिले लडाइँको प्रशिक्षण दिएको सुहाउँछ र दाजु - तिमी रातो झण्डा बोक्छौ र रातै भाषण गर्र्छौ । रातो त रगत पनि हुन्छ । गुराँस पनि हुन्छ । तर रगतलाई नदेखिएकै सुहाउँछ, गुराँसलाई देखिएको । जनताले तिमीबाट गुराँसजस्तै क्रान्ति खोजेका छन्, रगतजस्तो होइन ।

सम्झ त ती दिनहरु । समय निकै पीडादायी थियो । रात छिप्पिसकेको हुन्थ्यो । तर पनि तिमी आउँछौ भनी आमा अबेरसम्म अगेना र कसौँडी कुरेर बस्थिन् । वरिपरि कतै डाङडुङमात्रै सुनिए पनि त्यो वर्षौभरि अबिर-अक्षता नचल्ने हो कि भन्ने पिरले सताउँथ्यो । सबै गाउँले विस्मयको त्यो ननिको घाउ मेटाउन चाहन्छन् । खुकुरी त के खुर्पेटो पनि बोक्नु नपरोस् भन्छन् । तर गाउँ फेरि त्रासदिमा रुमल्लिएको छ । भाटेकारवाहि र शत्रुविनाशका आवाज फेरि सुनिन थालेका छन् ।

सुन्दैछु, आफै भोका भएका जनतासँग अन्न मागिएको छ रे । ऋणले सताइएकाहरुसँग पनि चन्दा दिन भनिएको छ रे । जे नै भए पनि हामी नेपाली इलम गरेर खाने जात हौँ । बन्दुक र खुकुरी बोक्नेलाई गाँसै काटेर दिन त गक्षले पनि कहाँ भ्याउँथ्यो र ? परिवर्तन जनताकै लागि हो भने त्यसको अनुभूति दिन सक्नुपर्छ । होइन भने जनताले त्यसमा अपनत्व भेट्दैनन् दाजु ।

अहिलेको युगमा पनि बलबुताले मात्रै सत्ता सम्भव छ भन्नु किमार्थ सत्य होइन । न त अब सबैलाई बन्दुकमात्रै परिवर्तनको कडि हो भनी झुक्याउन सकिन्छ । लिङ्कनले भनेका कुरा मैलेभन्दा पहिले तिमीले नै पढ्यौ होला "केही जनतालाई सबै समय झुक्याउन सकिन्छ । सबै जनतालाई पनि केही समय झुक्याउन सकिन्छ । तर सबै जनतालाई सबै समय झुक्याउन सकिँदैन ।" कब्जा त सत्तामाथि होइन, आफ्नै मनमाथि लिए राम्रो हुने हो, हैन र दाजु ?

त्रिसठ्ठी सालको त्यो मंसिर महिना । तिमीले सबैसँग मिलेर शान्ति ल्याउँछु भन्दा गाउँले हौसिएका थिए । ढिकुरपोखरीका पाखाभरि पैँयु फुलिरहेका थिए । सम्झौतामा दस्तखत गर्न तिमी उपत्यका ओर्लिँदा अब त देश उकालो लाग्ने भयो भनी सबै रमाए । माइतिघरदेखि मान्मासम्म दीप बल्यो । त्यो समय नेपालीको शान्तिपथ देखेर सारा मुलुकले आर्श्चर्यले मुख आँ पारेका थिए । त्यो इज्जत अहिले सियोको टुप्पोमा पुगेको छ । खस्न दिनुहुन्न दाजु ।

तिमी ढिकुरपोखरीमा जन्मिएका थियौ । म त्यही तलको पोखरामा । अझै सम्झन्छु, तिमी सिपाही हुँदा म सानै थिएँ । त्यसैले सिपाहीले मिठाइ ल्याउँछन् भनी पर्खन्थेँ । तिमी अहिले सिपाही छैनौ । र म पनि अब सानो छैन । बुझने भइसकेँ । त्यसैले सिपाही नभएका दाजुले मात्रै शान्ति ल्याउँछन् भनी पर्खिरहेको छु । यो आशाको त्यान्द्रो नचुँडियोस् ।

निधारको सप्तरंगीमा एउटै पनि रङ खस्यो भने पूरै टीका बिटुलो हुन्छ । उहिले सातैथरी मिलेर आन्दोलन गरे । त्यसैले अहिले पनि सातै विचार त पक्कै आएका छन् । सातै दलका राम्रा रङ मिलाएर संविधान बनाऊ । नयाँ संविधान इन्द्रेणीजस्तै होस् । सोच त दाजु, इन्द्रेणीमा एउटै पनि रङ छुट्दो हो त कति अपूरो हुन्थ्यो त्यो । हाम्रो देश पनि त्यस्तै छ । जनताका चाहना थरीथरी छन् । सबैलाई मिलाएर केही बनाउन सकिन्छ भन्ने विश्वास अझै टुटेको छैन । आखिर उही ठाउँमा नयाँ केही लेख्न पुरानो केही त मेट्नै पर्छ । हो, त्यसैले म गोलीका सम्झनाहरु बिर्साउन पाखुराका दाग मेट्दैछु । तिमी विश्वास गर या नगर, बन्दुकको नालले बाँसुरीको धून कहिल्यै पनि सुनाउन सक्दो रहेनछ ।

दसौँ वर्षदुखेको घाउमा अहिले अलिकति मलमपट्टी हुँदैछ । हो, गर्न बाँकी अझै धेरैथोक छन् । तर तरिका नै बदल्ने बेला त होइन होला यो । तिमी त युवालाई राम्रोसँग फकाउन सक्छौँ । प्रेरित पनि गर्न सक्छौ । त्यही अब्बल गुणको प्रयोग गरेर दलका नेतालाई फकाऊ । सम्मति र सहमतिको बाटोमा हिँड्न मनाऊ । तिम्रो सुरिलो चोर औँलालाई हेर त । त्यो औँलो टुँडिखेलमा धेरैपटक दुत्कार्न ठडिएको छ । बरु त्यसलाई सु-बाटो देखाउनमा प्रयोग गर । सानोमा तिमीले मलाई ताते गर्दै हिँडाएको सम्झन्छु । हो, त्यो चोर औँलालाई ताते गर्ने काममै लगाऊ, शत्रुलाई पख्लास् भन्नमा होइन । मजस्ता धेरै भाइबहिनी तिमीजस्ता धेरै नेताले देशलाई संयमी बाटोतर्फ डोर्‍याउलान् भन्ने आशामा छौँ । यो आशाको दियोमाथि विद्रोहरुपी हुरी नबलोस् ।

माओ त्सेतुङ्गले "युद्ध भनेको राजनीतिकै निरन्तरता हो" भनेका छन् । त्यो हुन सक्छ । हामीले भोग्यौँ पनि । तर राजनीति भनेको चाहिँ युद्धको निरन्तरता हुनुहुँदैन । एकचोटि आयो । धेरै सिकायो । तर अब फेरि होलेरी नफर्कोस् । दोरम्बा नदोहोरियोस् । बेनी र तानसेन नबल्झुन् । तिमी चिटिक्क परेका छौ दाजु । देशलाई पनि चिटिक्क पार ।

देशै त्राहिमान् हुँदा मनको कुरा नखोली रहन सकिनँ । अहिलेलाई परिक्षा नजिकिएकोले मैले धेरै पढ्नु छ । झिसमिसे नै भए पनि परिवेश अँध्यारो छ, देशजस्तै । बत्ति पनि छैन । यो बेला लोडसेडिङजस्तै दिक्कलाग्दो भएको राजनीतिक दलबीचको दूरि चाँडै घटोस् । अँध्यारै भए पनि यो तिम्रो पनि परिक्षा हो । इतिहासले तिमीलाई यतिबेला गहिरिएर जाँच्दैछ । अनुत्तिर्ण हुनुहुँदैन । तिमी त मभन्दा पनि जेठो । आमाले भन्थिन्, मैलेभन्दा धेरै भोटो फटाएका हौ रे । आफै पनि बुझने छौ । भाले बासिसक्यो दाजु । ढिलो-चाँडो बिहानी त हुन्छ नै । त्यसैले आमाको बिन्ति छ रे ! घाम उदाएन भने खुकुरी उदाउँछु नभन ।

.........................................................................................

10 comments:

  1. dherai raamro safal, keep writing....

    ReplyDelete
  2. Safal Katti raamro kuraa padhna paaye maile Dherai Pachhi ... words with incredible power, emotions with accountable reservation

    ReplyDelete
  3. सफल जीको पत्रमा राष्ट्र पुकार पाएँ।एक्दमै मन छुने पत्रको रचना भएको छ ।

    ReplyDelete