Tuesday, July 13, 2010

नेतृत्व हस्तान्तरण- Leadership transferral in Nepal

 प्रधानमन्त्री पदका लागि सुरु भएको लिगलिगे दौडमा अधिकांश अनुहार पुरानै छन्। यो दुई दशक यिनकै वरिपरि घुमेको थियो। समय र व्यवस्थासँगै पात्र परिवर्तन नभएकाले नेपाली राजनीतिमा नयाँ अनुहार देख्न र भोग्न धेरै कुर्नुपर्ने लक्षण छ। नेतृत्व हस्तान्तरणमा नेपाल, भारत र अमेरिकाको उदाहरण हेरौँ। नेपालमा २०१६ सालमा बीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भए। त्यसको ५० वर्षपछि अहिले उनीभन्दा ३९ वर्ष कान्छा माधवकुमार नेपाल प्रधानमन्त्री छन्। २०१६ सालमा भारतमा नेहरू प्रधानमन्त्री थिए। अहिले त्यहाँका प्रधानमन्त्री मनमोहन सिंह नेहरूभन्दा ४३ वर्ष कान्छा छन्। त्यस्तै २०१६ सालका अमेरिकी राष्ट्रपति आइजनहावर र अहिलेका बाराक ओबामाको उमेरमा ७१ वर्ष फरक छ। यसले नयाँ पुस्ता राजनीतिक नेतृत्वमा आउन नचाहेको वा नपाएको हो भन्ने स्पष्ट हुन्छ।


नेतृत्व हस्तान्तरणमा टोनी ब्लेयरको उदाहरण अनुकरणीय छ। उनी बेलायतमा दुई पटक प्रधानमन्त्री बने। तर सन् २००७ मा आफ्नो दोस्रो कार्यकालकै क्रममा उनले गोर्डन ब्राउनलाई नेतृत्व सुम्पे। नयाँले नेतृत्व पाएकैले टि्रनिडाड एण्ड टोबागो, कोस्टारिका, फिनल्याण्ड र अस्ट्रेलियामा यसै वर्ष महिलाले सत्ता सम्हालेका छन्। तर हामीकहाँ यस्तो गतिशीलता अपेक्षामात्रै बन्छ, नतिजा बन्दैन।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल भूमिगत छँदै क्रान्तिपछि सत्तामा नगई 'स्टेटम्यानसिप'मा बस्ने भन्ने गर्थे। तर काठमाडौँ ओर्लिएपछि उनको नेतृत्व हस्तान्तरणको वाचा ओइलायो। दाहाललाई गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति बनाउन संविधान सभाको चुनावताका भित्ताभित्तामा नारा पोतिए। अहिले उनै दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेका छन्।

कम्युनिस्ट नेता फिदेल क्यास्त्रो पनि सन् १९५९ देखि १९७६ सम्म क्युबाका प्रधानमन्त्री थिए। त्यसपछि उनी क्युबा राज्य परिषद्को अध्यक्ष रहे। सन् २००८ मा मात्रै उनले सो पद आफ्नै भाइ राउल क्यास्त्रोलाई हस्तान्तरण गरे। तर क्यास्त्रो ४५ वर्षदेखि अझै पनि क्युबन कम्युनिस्ट पार्टीका प्रथम सचिव छन्। दाहालको प्रवृत्ति यस्तै रहने हो भने उनी र ८२ वर्षको उमेरसम्म पद नछोड्ने क्यास्त्रोबीच भिन्नता रहने छैन।

हाम्रो समाजमा विद्यार्थी राजनीतिबाट दलको नेतृत्वमा छिटै आउन गाह्रो छ। धेरै दलले विद्यार्थी राजनीतिबाट आएका नेतालाई युवा संघ र संगठनको पद भिराएर 'रिजर्भायर' मा राख्छन्। यसरी नयाँ पुस्तालाई दलकै शिर्ष नेतृत्वमा आउन अनेक तगारा आइपर्छन्। जनदबाबले गर्दा कुनै स्थान पाए पनि तिनले छिट्टै निर्णायक भूमिका खेल्न सक्दैनन्। नेपाली काँग्रेस र नेकपा (एमाले) भित्र यो संस्कृतिको प्रहार खेपेका धेरै युवा नेता छन्।

नेतृत्व गर्न अग्रपंक्तिमै रहनु आवश्यक छैन। जस्तै एउटा गोठालो जहिल्यै पनि बस्तुभाउको पछि हिँडिरहेको हुन्छ। तर उसले पछाडिबाटै तिनलाई गन्तव्यतर्फ डोर्‍याइरहन्छ। अब दलका नेताले बुझ्नुपर्ने समय आएको छ, बालुवाटार नेपाली राजनीतिको प्रयोगशाला होइन। यति जान्दाजान्दै पनि राजनीतिमा प्रत्येक पटक नयाँ रासायनिक मिश्रणको परीक्षण गर्नु र समीकरण जाँच्नु त्यसलाई विफल तुल्याउन उद्यत हुनु हो।

दक्षिण अफ्रिकाले संक्रमणकालमा नेल्सन मण्डेलाजस्तो दूरदर्शी र समन्वयकारी नेता पायो। त्यसैले उसले समयमै संविधान पनि पायो र परिवर्तनको ढोका उघार्न सक्यो। तर हाम्रो मुलुकमा भने नेता धेरै जन्मिए, राजनेता जन्मिएनन्। अब बन्ने प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो चुनौती यही हुनेछ। उनी कुनै दलको नेता नबनी राजनेता बन्न सके भने अहिलेका धेरै विवाद निष्कर्षमा पुग्छन्। तर पर क्षितिजसम्मै हेर्दा त्यस्तो नेतृत्वको कुनै लक्षण देखिन्न। त्यसैले पनि नेपालमा राजनेता हुनसक्ने नेतृत्व प्रस्फुटनका लागि तीव्र गतिमा नेतृत्व हस्तान्तरण हुनु आवश्यक छ। सोच्नेले सोचिदिए भने देशैले जित्नेछ। होइन भने हामी सबैले हार्नेछौँ।
(Safal Ghimire, Nagarik National Daily, 13 July 2010; photo courtesy from http://3.bp.blogspot.com/)

No comments: