Tuesday, October 18, 2011

वालस्ट्रिट विद्रोहको सन्देश (Occupy Wallstreet and Nepal)

-सफल घिमिरे
अरब आन्दोलनको सिको गर्दै अहिले वालस्ट्रिटमा युवा विद्रोह प्रस्फुटित भएको छ। अतिपुँजीवादी अर्थतन्त्रले घाँटी थिच्न थालेपछि अमेरिकी सहरहरूमा प्रतीकात्मक विरोध सुरु भएका छन्। यो अमेरिकी आर्थिक नीतिको विफलताको सूचक हो। आशालाग्दा राष्ट्रप्रमुखसँगको भरोसा खस्किएको संकेत पनि हो। हुनत, काठमाडौँ र वालस्ट्रिटबीचको भौतिक दूरी १२ हजार किलोमिटर छ तर वालस्ट्रिटमा उर्लिएका र काठमाडौँका जनताको व्यथामा भने एक इन्च पनि फरक छैन। किनभने बारक ओबामा र बाबुराम भट्टराई उभिएको धरातल उस्तै हो।


अमेरिकी जनताको आशा बनेर तीन वर्षअघि जसरी ओबामा उभिएका थिए त्यसरी नै नेपालमा भट्टराई उभिएका थिए। ओबामा आगमनको समय आर्थिक मन्दी, बेरोजगारी, आतंकवाद र सुरक्षा जोखिमले ग्रस्त थियो। यता भट्टराईको समयमा पनि आर्थिक विषमता, जनशक्तिको बहिर्गमन, बेरोजगारी र वित्तीय अराजकताका समस्या चुलिएका छन्। साथै समायोजन, शान्ति र संविधानका काम सधैँझैँ थाती छन्। त्यसैले आशालाग्दो नेतृत्वबाट जनताले केही नपाउँदा हुने परिणामबारे भट्टराई चनाखो हुनु जरुरी छ।




गत सेप्टेम्बर १७ मा सुरु भएको 'अकुपाइ वालस्ट्रिट' विद्रोहको राष्ट्रिय संस्करण गएको शनिबार ८२ मुलुकका ९५१ सहरमा आह्वान गरिएको थियो। हालसम्म नेतृत्वविहीन, एजेन्डाविहीन र स्वःस्फूर्त सहभागितामा चलेको यो अभियान इन्टरनेटबाट फैलिन थालेकाले यसलाई 'ई विद्रोह' पनि मान्न सकिन्छ। अर्को अर्थमा यो राज्यव्यवस्थाप्रतिको नागरिक अवज्ञा पनि हो, जसको प्रतिकात्मक सुरुआत पुँजीवादी स्वार्थको केन्द्र मानिने वालस्ट्रिटबाट भएको छ।
धेरै वित्तीय संस्था र सेयर कारोवारको केन्द्र बनेको वालस्ट्रिट विश्वमा पुँजीवादको प्रतीक मानिन्छ। यसको व्यस्ततालाई प्रतिविम्बित गर्दै ओलिभर स्टोनले 'मनी नेभर स्लिप्स' (पैसा कहिल्यै निदाउँदैन) भन्ने चलचित्र नै बनाएका छन्। यसैबाट बुझिन्छ, यस ठाउँले अमेरिकी वित्तीय साम्राज्यमा कति महत्व राख्छ। समयसँगै, वालस्ट्रिटले अमेरिकी अर्थबजारमा जरा गाडेको छ। अहिले राजनीतिको पत्रपत्रमा समेत वालस्ट्रिटकै पुँजीवालाहरूको बोलवाला छ।

अमेरिकी अर्थतन्त्रमा पुँजीवादी ग्रहण लागेेपछि निम्न तथा मध्यम वर्गका कर्मचारीको ज्याला बढ्न सकेन। बेरोजगारी दर नौ प्रतिशतबाट पनि उँभो लाग्यो। यति बेला कर बढाउने कि स्वास्थ्य तथा अवकाशका कार्यक्रममा लगानी घटाउने भनी रिपब्लिकन र डेमोक्र्याटबीच द्वन्द्व चुलियो। वालस्ट्रिट विद्रोहको सन्दर्भमा यो परिप्रेक्ष्य महत्वपूर्ण छ। किनभने, आर्थिक संकटमा त्यहाँको वित्तीय नीतिले ठूला कम्पनीलाई भरणपोषण त गर्‍यो तर सामान्य जनताको हितमा सिन्को भाँचेन। त्यसैले जनआक्रोश नयाँ उचाइमा प्रकट भयो।

अमेरिकामा करिब २५ प्रतिशत राष्ट्रिय आम्दानी र ४० प्रतिशत सम्पत्तिको नियन्त्रण जम्मा १ प्रतिशतका हातमा छ। त्यहाँ यस्तो असमानता गएको शताब्दीमै कहिल्यै थिएन। अल जजिरालाई आधार मान्ने हो भने अतिसम्पन्न, मध्यम र विपन्न अमेरिकीबीचको असमानता गएको ३० वर्षमा झनै चुलिएको छ। त्यसको प्रतीकात्मक विद्रोहमा सचेेत अमेरिकीले वालस्ट्रिट कब्जा गर्ने लक्ष्य लिएका हुन्। यसबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्नेछ।

नेपाली जनताले आशा गरेका भट्टराईको स्थिति पनि ओबामाको जस्तै छ। यहाँ गरीब र धनीबीचको दूरी अमेरिकामा जति नै कहालीलाग्दो छ। राष्ट्रिय आम्दानीको ४५ प्रतिशत सम्पन्न २० प्रतिशतको भागमा पर्छ। यसविपरीत अतिविपन्न २० प्रतिशत नेपालीको हातमा सो आम्दानीको ८ प्रतिशत हिस्सामात्रै छ। शान्ति सम्झौताको पाँच वर्ष हुन लाग्यो। अर्थतन्त्र र पुनर्निर्माणमा तात्विक सुधार वा विकास देखापरेका छैनन्। काठमाडौँ र कर्नालीबीचको अन्तर अझ बढेको छ। तुइन चढ्दा खोलामा खस्नेले केही पाउँदैनन्। अपराधी भिडन्तमा मर्नेहरूले छिनभरमै लाखौँ क्षतिपूर्ति पाउँछन्। विदेसिने क्रमले राष्ट्रिय श्रमशक्ति दर घट्दै छ। करिब ७० हजार विस्थापित, २ लाख भूमिहीन र ४० लाख बेरोजगार जनताको पीडामा मलम लगाइएको छैन। एउटै मुलुकका जनताबीच दसौँ गुणा आम्दानी अन्तर छ। यस्तो अवस्थामा कुनै ठूलै जनविद्रोह उर्लियो भने पनि आश्चर्य मान्नुपर्दैन।

जुकोटी पार्कको विद्रोहका कारण न्युयोर्क प्रहरीको अहिले नै ३२ लाख डलर खर्च भइसकेको छ। तर यस्तो विद्रोहको भौतिकभन्दा राजनीतिक अर्थ महत्वपूर्ण हुन्छ। यस्ता प्रतीकात्मक आन्दोलनले महत्वपूर्ण परिवर्तन नल्याउलान् तर इतिहासमा यिनको स्थान उल्लेख्य हुन्छ। सन् २००५ मा विश्व व्यापार संगठनको मन्त्रीस्तरीय बैठकअघि कोरियाली किसानले पौडी विद्रोह गरे। सन् सत्तरीको दशकमा नारीवादीहरूले 'ब्रा बर्निङ' (ब्रा जलाउने) विद्रोह गरे। यस्ता प्रतीकात्मक विद्रोहको महत्व आज पनि उत्ति नै छ। अहिलेलाई वालस्ट्रिटको विद्रोहको सन्देश खुला बजार व्यवस्थामा सही नियमन भएन भने अप्रिय स्थिति आउनसक्छ भन्ने हो। यो नेपाली अर्थव्यवस्थाको लागि पनि मननको विषय हो।

वालस्ट्रिट विद्रोहको योजना 'एडबस्टर्स' मिडिया समूहले तीन वर्षअघि नै बनाएको थियो। तर वित्तीय तथा बैंकिङ क्षेत्रमा ओबामाप्रति जनताले ठूलो आशा देखाए। यही आशाले विद्रोहको मिति धकेल्यो। तर ओबामाको वित्तीय नीतिले पनि ठूला कम्पनीकै भरणपोषण गर्‍यो। वास उठेका र बेरोजगार अमेरिकीलाई केही दिन सकेन। निम्न तथा मध्यमवर्गीय अमेरिकी जनता राज्यव्यवस्थासँग निराश थिए। त्यही निराशा अहिले जुकोटी पार्कमा प्रकट भएको छ।


नेपालमा पनि परिस्थिति त्यस्तै छ। राजधानीमा मात्रै कुल आम्दानीको ९० प्रतिशत रकम २० प्रतिशत धनाढ्यको नियन्त्रणमा छ। सहरी क्षेत्रमा प्रतिव्यक्ति मासिक आम्दानी १९ हजार हुँदा ग्रामीण नेपालमा त्यस्तो आम्दानी तीन भाग कम छ। सार्वजनिक स्रोत साधनको दुरुपयोग हुन छोडेको छैन। निहित स्वार्थका लागि हवाइजहाजदेखि सिटामोलसम्मै राजनीतिकरण भएको छ। यति हुँदाहुँदै पनि नेपाली जनता निराश भइसकेका छैनन्। तर राज्य संयन्त्रले यस आशालाई उचित सम्बोधन गर्न सकेन भने जुकोटी पार्कको प्रभाव रत्नपार्कसम्म आइपुग्न धेरै महिना लाग्ने छैन।


[First published in Nagarik National Daily on Monday, 17 October 2011 13:17]

No comments: