Thursday, August 15, 2013

वरिष्ठता नरुचाउने मेरा प्रोफेसर

शक्ति सिद्धान्त (पावर थिअरी) मा पनि राम्रो दख्खल राख्ने मेरा एकजना अनुसन्धान सुपरीवेक्षक अचम्मका छन् । कहिलेकाहीँ आफ्नो लेखनको ड्राफ्ट बोकेर उनकै घरमा पुग्नुपर्छ । दर्शनशास्त्री उनी मलाई रुखमुनिको चौडा आँगनमा बसाउँछन् । बिअरको अग्लो बोतल अफर गर्छन् । अनि मात्रै लेखपढका कुरा सुरु हुन्छन् । पहिलो पटक उनको तस्विर वेबसाइट देख्दा उनी एउटा प्राचीनजस्तो लाग्ने गोठमा देखिएका थिए । पछाडि गाइ थियो । गोठैमा उनको कम्प्युटर, त्यो पनि सत्रौ शताब्दीको जस्तो लाग्ने पुरानो घ्यू रंगको माइक्रोसफ्ट कम्प्युटर । लामो कपाल, अग्लो ज्यान, चौडा छाती । तर त्यो छातीभित्र आत्मीयता भने प्रखर साँचेका । औपचारिकता केही रुचाउँदैनन् । मलाई प्रशासनले यो वा त्यो कामको लागि यसरी गर भनेको छ भनेँ भने उनी ‘इग्नोर द ब्लडी ब्युरक्र्याट्स, माइन्ड योर रिसर्च बिजनेस’ भन्थे । (उसो त 'ब्लडी' शब्द उनका प्रत्येक दशमध्ये सातजति वाक्यमा आउँछन।) आज पनि नयाँ व्यवहारले मलाई फेरि सोच्न बाध्य बनाए । हामी भोलि भेट्ने सल्लाह हुँदै थियो । उनले भने, ‘सधैँ मेरो कोठामा आइरहनुपर्दैन, भोलि म तेरो कोठामा आउँछु । त्यहीँ बसेर छलफल गरौँला ।’ अचम्म यस मानेमा कि हामी प्रायः दक्षिण एसियालीहरु आफूभन्दा कनिष्ठसँग एकप्रकारको ‘डिस्ट्यान्स’ राख्नै रुचाउँछौँ । (यस कुरामा अमेरिकी र अन्य पश्चिमा ‘वरिष्ठ’हरु पनि कम छैनन् ।) तर यी भने अजीवका लाग्यो मलाई । त्यसैले यिनको दर्शन (फिलसफी) अचेल धेरै सुन्छु । सबैभन्दा मनपर्ने कुरा त यिनी पनि अनिश्वरवादी दर्शनमा प्रखर काम गरेका विद्वान् मानिन्छन्, नाम हो टोनी लिन्च ।

No comments: