Saturday, August 17, 2013

चिहानघाट चिन्तन

गएको रविवार ११ अगस्टमा म चर्च अफ न्यू इंग्ल्यान्डको नजिकै हुँदै पर कतै जान खोजिरहेको थिएँ । अकस्मात् मेरा आँखा दायाँ छेउतिरको फराकिलो चउरमा पुगे । गाडीको गति अलि सुस्त पार्दै विस्तारै हेरेँ । त्यहाँ त सानैदेखि हामीले जिजसका प्रतिक भनेर देख्ने गरेका जोड चिन्ह (प्लस) आकारका धेरै सेता ढुंगाहरुको भिड देखेँ । त्यसपछि मलाई यो ठाउँ म बस्ने यो नयाँ सहरका मृत शरीरहरु गाड्ने चिहानघाट रहेछ भन्ने थाहा पाउन धेरै बेर लागेन । विस्तारै गाडी छेउ लगाएँ । अनि बाटो पार गरेर पसेँ यसो हेर्छु के हुने रहेछ यहाँ भनेर । सयौँ रुखमन्तिर हजारौँ लासहरु गाडिएका थिए । प्रत्येक परिवारको लागि छुट्याइएका ठाउँहरु । कोही दुई तीन सय वर्षअघि गाडिएका, कोही दुई तीन महिना अघिका पनि । कोही ८० वर्ष कटेरै मरेपछि गाड्न ल्याइएका, कोही १६ वर्ष पनि नपुग्दै मृत्युवरण गर्न बाध्य भएका । कोही चिहानहरु अलि भासिएका, भत्किन खोजेजसरी चर्किका । मानौँ कि त्यहाँभित्रकै लासलाई उकुसमुकुस भएको छ हजार वर्ष सुत्दा र निस्कन खोज्दैछन् फेरि यही संसार हेर्नलाई । तर जिन्दगी अचम्मै तरिकाको एकतर्फी (वान–वे) हुन्छ । कुनै-कुनै मोड (जस्तै चिहान) मा पुगेपछि अब फर्केर आउँछु भन्ने बाटो पनि हुँदैन । सबैभन्दा अनौठो अनुभव त ती प्रत्येक चिहानका सिरानमा आफन्तीजनले कुँदेका अन्तिम शब्दहरु पढ्दा लाग्ने रहेछ । जस्तै एउटाः गन, बट नट फर्गटन (बिदा भएको, तर नबिर्सिइएको एउटा मानिस) । यस्तो ठाउँमा आउँदा कस्तो बेग्लै अनुभूति हुने रहेछ । मनको कता कता अन्तर कुनामा कस्तो-कस्तो नमजा बनाइदिने । मानौँ कि भर्खरै कुनै घमासान युद्ध सकिएको छ र म यत्रतत्र छरिएका लासैलास बीच उभिएको छुजस्तो । मानौँ कि मेरा सबै सहयोद्धाले वीरगति पाइसके तर युद्ध सकिँदा ममात्रै रहेँजस्तो । सायद यो दिनको बारेमा अर्को कुनै ब्लगमा अलि बढी पोखिनेछु । उसै पनि मलाई ब्लगहरुलाई उतिसारो लम्ब्याउन मन लाग्दैन, धेरै शब्दले अनुभूतिलाई झनै क्लिष्ट बनाउँछन् कि भन्ने भय आइरहन्छ । अहिलेलाई सोही ठाउँमा खिचेका केही तस्विरहरु....


























No comments: