Tuesday, October 8, 2013

सञ्चार माध्यम र सेनापति (Nepal Army Chief and Controversy in Indian Media)

सफल घिमिरे

सेनापति राणाले बोलेका भनिएका कुरा कूटनीतिक हिसाबले अपरिपक्व पक्कै हो। तर उनलाई औँला नै ठड्याएर गाली गर्न चाहिँ अहिलेसम्म सार्वजनिक भएका आधार पर्याप्त छैनन्।


भारतको छ दिने भ्रमण पूरा गरी सेनापति गौरव शम्शेर राणा शनिबार काठमाडौँ आइपुगे। तर उनी आइपुग्नु अगावै आइपुग्यो एउटा विवादास्पद समाचार! टाइम्स अफ इन्डियाको अक्टोबर ४ को अंकमा लेखिएअनुसार राणाले त्यस पत्रिकालाई 'एक्सक्लुसिभ' अन्तर्वार्ता दिएका थिए। सो अन्तर्वार्तामा सेनाको कूटनीतिक धर्मविपरीत देखिने अभिव्यक्ति सार्वजनिक भएका छन्।

तिब्बत र सिन्ज्याङ मामिलामा अल्भि्करहेको हुनाले भारतमाथिको आक्रमण चीनले थेग्न सक्दैन भनी सो पत्रिकाले राणालाई उद्धृत गरेको छ। उक्त समाचारअनुसार चीनले आक्रमण गरेका खण्डमा प्रतिकार गर्न भारत सक्षम रहे पनि भारतसँग राजनीतिक इच्छाशक्तिको अभाव रहेको राणाले बताएका थिए। महत्वपूर्ण त, चीनले सीमा मिचेको भनिएको लद्दाख र अरूणाञ्चलमा आएका समस्यालाई ठूलो बनाउनु नहुने आशय नेपाली सेनापतिले प्रकट गरेका भनी समाचारमा जनाइएको छ।

राणाले दिएका भनिएको यो अभिव्यक्तिले काठमाडौँमा एक प्रकारको तरंग सिर्जना गर्‍यो। भारतीय पूर्वसेनाध्यक्षले विरोधव्यक्त गरे। नेकपा (माओवादी) नेतृत्वको मोर्चाले हतारमै प्रतिक्रिया दिँदै सेनापतिमाथि कारबाहीको माग गर्‍यो। सेनापति त्रिभुवन विमानस्थलमा उत्रिएको २४ घन्टा नबित्दै नेपाली सेनाले समाचारको खण्डन प्रकाशन गर्‍यो। नेपाली सेनाको दाबीअनुसार सो 'तथ्यहीन र भ्रामक' टिप्पणी 'अप्रासंगिक तवरले संप्रेषण' गरिएको छ। सेनाको खण्डन पनि कूटनीतिक देखिन्छ। खण्डनमा राणाले सञ्चारमाध्यमलाई कुनै किसिमको 'औपचारिक अन्तर्वार्ता' नदिएको बताइएको छ। यसको अर्थ अनौपचारिक कुराकानी भएको हुनसक्छ भन्ने लाग्छ। तर यस्ता कुराकानीका सारांश पत्रिकामा सार्वजनिक पनि हुनसक्ने भन्ने सम्भवतः राणाले सोचेकै थिएनन्। अथवा, सम्बन्धित संवाददाताले उनलाई पूर्वजानकारी नदिएको पनि हुनसक्छ। यस्तो अवस्थामा सेनापति राणाभन्दा समाचार प्रकाशन गर्ने पक्ष नै बढी गैरजिम्मेवार देखिन्छ।


मूल कुरा, जति नै चर्चित पत्रिकाले छापेको भए पनि सो समाचार पूर्ण सत्य हो भन्ने सोच्नु गलत हुन्छ। टाइम्स अफ इन्डिया त पहिले पनि यस्ता राजनीतिक विवादमा तानिएकै पत्रिका हो। अनेकौंमध्ये एउटा उदाहरण गत वर्ष जुलाईको छ। मोरिसस भन्ने मुलुकले कर सन्धिको मामिलामा भारतलाई दुई द्विप (आइल्याण्ड) नै दिने व्यहोराको समाचार टाइम्स अफ इन्डियाले छापेको थियो। त्यतिबेला भारतको औपचारिक भ्रमणमा रहेका मोरिससका परराष्ट्र मन्त्रीलाई यही अभिव्यक्तिले विवादमा तान्यो। पछि उनले भारतलाई द्विप नै दिने कुनै त्यस्तो आशय प्रकट नगरेको भनेर समाचारको खण्डन गरे। उनले सो पत्रिकाले बारम्बार यस्तो गरेको र यसमा गल्तीमात्र नभई पत्रिकाको गुप्त राजनीतिक एजेन्डा नै रहेको आरोप लगाएका थिए। रणनीतिकरूपले महत्वपूर्ण सामग्री प्रकाशन गर्दा बलियो प्रमाण पनि सँगै सार्वजनिक नगर्नु पत्रिकाको कमजोरी हो। तर यतिमात्रै विश्लेषण भने काँचो हुन्छ। किनभने राजनीतिक रंगमञ्चमा यस्ता धेरै घटना नियोजित पनि हुनसक्छन्। यसको आशय सेनापति राणाले त्यस्तो अभिव्यक्ति दिएका नै थिएनन् भन्ने होइन। यस प्रकरणमा नदेखिएको अर्को पाटो पनि त हुनसक्छ। 

टाइम्स अफ इन्डियाले पनि अन्तर्वार्तालाई अलि भारतीय रंग दिएको देखिन्छ। उसले राणालाई भारतप्रति सदाशय राख्ने सेनापतिका रूपमा चित्रित गर्न खोजेको छ। समाचारको स्वरूपलाई हेरौँ। राणालाई नेपाल–भारत सम्बन्ध 'अतुलनीय' ठान्ने र 'भारतमा शिक्षित नेपाली सेनापति' भनेर उसले आफ्नो पोल्टामा राख्न खोजेको छ। तर राणाले बाल्यकालको शिक्षा भारतमा लिए पनि महत्वपूर्ण सैन्य शिक्षा अमेरिका र पाकिस्तानबाट पाएका हुन्। पछिल्लो पटक चीन पुग्दा पनि त्यहाँको सेनाले पनि उनलाई विशिष्ट सम्मान दिएको थियो। कुन्मिङदेखि नै चिनियाँ जनमुक्ति सेनाको विशेष हवाईजहाजबाट बेइजिङ लगेको थियो। साथै उसले नेपाली सेनालाई ठूला आर्थिक सहयोगको वाचासमेत दिएको थियो। अचम्म, के छ भने राणालाई समाचारको अधिकांश वाक्यमा भारतीय सेनाको प्रशंसक र भारतीय पक्षधरका रूपमा चित्रित गरिएको छ। तर सीमासम्बन्धी टिप्पणीमा चीनको पक्ष लिएको देखिनाले उनले भारतीय आलोचना खेप्नुपर्ने देखिन्छन्। अर्थात्, औपचारिक अन्तर्वार्ता नै हो भन्ने पुष्टि भएको खण्डमा राणालाई उत्तर र दक्षिण दुवै मुलुकबाट आलोचनात्मक वाण आउनसक्छ। 

अब आयो नेपालको आधिकारिक धारणाको प्रश्न। यो अभिव्यक्ति नियोजित थियो र नेपालले त्यस्तो प्रतिक्रिया दिनैपर्ने थियो भने त्यसको लागि आधिकारिक निकाय रक्षा मन्त्रालय हो। तर नेपालले परराष्ट्र मामिलामा असंलग्नताको नीति अंगिकार गरेको छ। त्यसैले अरू मुलुकका मामिलामा प्रतिक्रिया दिनु राष्ट्रिय नीति विपरीत हुन्छ। त्यसमाथि सेनाले समेत सो समाचारलाई आधारहीन भनेको छ। चण्डीगढका स्थानीय टेलिभिजनहरूसँग उक्त फुटेज उपलब्ध रहेको समाचार आएका छन्। तर सोमबार मध्याह्नसम्म घटनाको स्वतन्त्र विश्लेषण गर्न मिल्ने कुनै पनि अडियो/भिडियो इन्टरनेटमा सार्वजनिक भएका देखिँदैनन्।
भारत र नेपाल घनिष्ठ मित्र हुन्। दुवै देशबीच संयुक्त सैन्य अभ्यास र सहयोग निरन्तर चल्दै आएको छ। गएको छ दशकदेखि यी दुई मुलुकका सेनाप्रमुख एक अर्को देशका मानार्थ सेना प्रमुख बनाउने परम्परा छ। तर सेनापतिले आफ्नो पदको वजन राखेर घरिघरि भारत भ्रमण गर्न खुट्टा नउचालेको भए राम्रो हुन्थ्यो। यस्ता भ्रमण थोरै हुँदा पनि विवादमुक्त हुन धेरै सहयोग मिल्छ। यसअघि नौ महिनाअघि मात्र भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न राणा दिल्ली पुगेका थिए। निजीसमेत जोडेर उनले एक वर्षभित्रै भारतको तीन पटक भ्रमण गरिसकेका छन्। संयुक्त सैन्य अभ्यास निरीक्षण गर्ने र आफै पढेको विद्यालयको कार्यक्रममा अतिथि हुनुबाहेक यो भ्रमणमा उनको विशिष्ट एजेन्डा खासै देखिन्थेन। केही 'महत्वपूर्ण भेट' गर्ने भनिएको थियो। तर यस्ता कामहरू दिल्लीस्थित नेपाली दूतावासका सैन्य सहचारीका माध्यमबाट गराउनु उचित हुन्थ्यो।

उच्च पदस्थ अधिकारीहरूले विदेश भ्रमणमा के बोल्ने, के नबोल्ने भन्ने सबै पूर्वनिर्धारित हुन्छ। सोचेर, बुझेर र त्यसको प्रतिप्रभाव आकलन गरेर मात्रै बोलिन्छ। बहालवाला उच्चपदस्थ अधिकारीले कूटनीतिक क्षेत्रमा बोलेको बोली बन्दुकको नालबाट निस्केको गोली जस्तै हो। माफी मागेर बोली फिर्ता लिए पनि सम्बन्धमा आएको तीतो मेटिँदैन। तर सैन्य पेसामा ३९ वर्ष बिताएका राणालाई यस्तो कुराको हेक्का थिएन भन्ने कल्पना गर्न पनि तर्कसंगत हुँदैन। राणाले बोलेको भनिएका कुरा कूटनीतिक हिसाबले अपरिपक्व पक्कै हो। तर उनले यो भनाइ आधिकारिक वार्तालापकै क्रममा भनेका थिए भन्ने कुरामा अझै शंका गर्न सकिन्छ। चर्चामा आउने सबैभन्दा सजिलो उपाय गाली गर्नु हो। तर राणालाई औँला नै ठड्याएर गाली गर्न चाहिँ अहिलेसम्म सार्वजनिक भएका आधार पर्याप्त छैनन्।

[First published in Nagarik National Daily on 08 October 2013]

No comments: