Monday, March 24, 2014

वैद्यको नैतिक वैधता (CPN-Maoist and Second Election to the Constituent Assembly in Nepal)


सफल घिमिरे

देश जलाएर खरानीमा मोज गर्नु साहस हैन, कायरता हो ।
राजनीतिक चेतना हैन, जनभावनाको अवमूल्यन हो ।

संसारमा विद्रोह गर्ने तीन तरिका देखिएका छन्। पहिलो, अरू कसैलाई क्षति नपुर्याउने, बरु आफैँलाई जलाएर प्रतीकात्मक तर सशक्त विद्रोह गर्ने, जस्तैः तिब्बती विद्रोहीहरूले गरिआएका आत्मदाह। दोस्रो, आफ्नो आस्थाका खातिर आफैँलाई पड्काएर अरूलाई पनि क्षति पुर्याउने आततायी विद्रोह, जस्तैः अल कायदासम्बद्ध विद्रोहीले गर्ने आत्मघाती विष्फोट।

तेस्रो, आफू चाहिँ क्षतिबाट चोखिने र सर्वसाधारण होस् कि विरोधी, अरूलाई ध्वंश पारेर नाक फुलाउने र ठूलो राजनीतिक भागको लागि मोलतौल गर्ने। यो तेस्रो र अत्यन्तै निच शैलीको विद्रोह नेपालमा देखापरेको छ, त्यो पनि चलिरहेको चुनावविरोधी कार्यक्रममा। यति पढिसकेपछि वैद्य माओवादी समर्थकहरूले सोध्लान् – हामीलाई किन ध्वंशकारी भन्यो भनेर। नेकपा—माओवादी भनिने दलका कृत्यलाई अवैध भन्न नेपाली जनतासँग प्रशस्त कारणहरू छन्, जसलाई तल केलाइएका छन्।

बमले मार्छ भन्ने थाहा हुँदाहुँदै ट्रक गुडाइरहेका ड्राइभरमाथि गएको बिहिबार पेट्रोल बम हुर्याइयो। साधारण जनता घाइते हुन्छन् भन्ने हेक्का हुँदाहुँदै मकवानपुर, चितवन, सुर्खेतलगायत ठाउँमा गुडिरहेकै बसमाथि पेट्रोल बम फालियो। जनताको दुर्दशा भएका दुईचार प्रतिनिधि कथा बाहिर आए, तर बीसौँ घाइते अझै ध्वंशकारीलाई दुत्कारेर बसेका छन् । पाँच वर्ष पनि नटेकेका दूधेशिशुको अनुहार क्षतविक्षत भएको छ। माओवादको 'म' नजान्ने र राजनीतिको 'र' नबुझ्ने अबोधहरूको शरीर क्षतविक्षत बनाइएको छ।

लोकतन्त्रमा बन्द र विरोध सबैले गर्न पाउँछन्। तर यसलाई मान्ने÷नमान्ने जनताको स्वविवेकमा छाडिनुपर्छ। जनताले मानेर स्वेच्छाले कामधाम रोके विरोध सफल हुन्छ, नत्र विफल। तर यहाँ बन्दको समर्थन गर्दिन, गरी खान पाऊँ भन्नेको बाँच्ने अधिकार खोसिएको छ।

निजगढका राजु क्षेत्रीले बन्द अवज्ञा गर्न रुचाए। इलम गरी दुई छाक खान्छु भने। साहस बटुलेर ट्रक चलाउँदा बम प्रहार गरी उनको हत्या भयो। यो मृत्यु हैन, सर्वहाराको नियोजित हत्या हो। कमाएर खान पाऊँ भन्ने आम नागरिकको हत्या, हिँडडुल गर्न पाऊँ भन्ने स्वतन्त्रताको हत्या, कमाइ गरी छोरीलाई स्कुल पठाउन पाऊँ भन्ने सपनाको हत्या। त्यसैले यो घटना नेपाली राजनीतिक इतिहासमा मात्रै हैन, वैद्य समूहको गालामा पोतिएको कालो दाग पनि हो। मोहन वैद्यले उत्तर दिनुपर्छः के उनीसँग प्रत्येक साँझको गाँस काटेर मृतक राजु क्षेत्रीकी छोरीको थाल भर्ने हिम्मत छ ?

हिंसात्मक घटना आफूले गराएको होइन जस्तो गरेर वैद्य माओवादीले चारबुँदे विज्ञप्ति निकालेको छ। यी सबै घटना अज्ञात समूहले गराएका हुन् भन्ने पार्न खोजिएको छ। तर यी घटना ज्ञात समूहद्वारा गराइएका हुन्, अज्ञात त व्यक्तिमात्रै हुन्। सबै घटनामा वैद्य समूह संलग्न भन्न नमिले पनि यो समूहलाई चोर औँला देखाउन सकिने केही बलिया कारण पक्कै छन्।

पहिलो कारण, नेकपा–माओवादीले चुनावमा उम्मेदवारी दिनेलाई भौतिक कारवाही गर्ने पत्र पठाएका थिए। चुनाव ध्वस्त पार्ने नीति सार्वजनिक गरेका थिए। अहिले हामीले शान्तिपूर्ण आन्दोलन गर्यौँ, अशान्ति अरूले मच्चायो भन्नु ढोंग हो।

दोस्रो कारण, मुख्य घटनामा वैद्यनिकट कार्यकर्ताहरू पक्राउ परेका छन्। जस्तैः चितवनमा बसमा बम प्रहार गरेको आरोपमा नवीन बिसी समातिएका छन्। नेकपा–माओवादी राज्य समिति सदस्य बिसीबाट डेटोनेटर र एसएलआर राइफलको गोली बरामद गरिएको छ। काठमाडौँमै एक माओवादी कार्यकर्ता त बम बनाउँदा बनाउँदै विस्फोटमा परी घाइते भएका छन्। पक्राउ परेकाले नेकपा–माओवादीका केन्द्रीय सदस्यहरूले नै अह्राएको बयान दिएका छन्।

तेस्रो, यी सबै आक्रमण नियोजित हैनन् भने पनि अनियन्त्रित पक्कै छन्। चुनाव विपक्षी शक्तिको नेतृत्व लिएको हुनाले पनि यो अराजकताको नैतिक जिम्मेवारी वैद्य समूहले लिनुपर्छ। मुलुकलाई नै त्राहिमान् बनाएर गरिने बन्द राजनीतिक शक्तिको दुरुपयोग हो। जनताको सामान्य जीवनयापनको हक पनि हनन गर्ने आधारभूत रूपले नै गलत र पतित कार्यलाई शान्तिको निम्ति गरिएको भन्न मिल्दैन। पहिलो त, सचेत जनताहरूमाथि गलत तर्क लगाएर शासन गर्न अब गाह्रो छ। दोस्रो, यस्ता हिंसात्मक चर्तिकलाले वैद्यको सही मागप्रति शुभचिन्ता राख्नेको संख्या पनि घटेको छ।

हिजोको चुनाव नेपालको राजनीतिमा एउटा पुल थियो। यसको नतिजा सार्वजनिक भएपछि संसदीय दलहरू खोलापारि पुग्नेछन्, वैद्य समूह खोलावारि नै रह्यो। महत्वपूर्ण कुरा, अब वैद्य कुन पुल तरेर पारि पुग्छन् भन्ने हो। किनभने निर्वाचनबिना पारि पुग्न उनलाई अरू वैधानिक आधार छैनन्। द्वन्द्व व्यवस्थापनका लागि वैद्यलाई जस्केलोबाट संविधानसभा छिराउने उपाय पुष्पकमल दाहालले सुझाएका छन्। तर चुनाव भइसकेपछि त्यो पनि किन र कुन आधारमा दिने भन्ने प्रश्न पक्कै उठ्छ। संविधान सभामै स्थान दिए पनि त्यसको वैधता विवादमुक्त हुनेछैन। जनताका प्रश्न तेर्सिरहनेछन् हड्ताल गरेको र बम बर्साएको फलस्वरूप उनलाई सिट किन दिने ? फेरि, उनलाई सिट दिने अधिकार जनताले कसलाई पो दिएका छन् र?

वैद्य जनताको नजरमा सान्त्वनाको पात्र बन्नुपथ्र्यो, सकेनन्। त्यसैले उनी चुनावमा छोडिनु मदनलाई ल्हासामा एक्लै छोडी साथीहरू टाढिएजस्तो पनि देखिएन। आफ्ना कुरामा जनतालाई विश्वस्त तुल्याउने र समर्थन जुटाउनेभन्दा उनको समूहले शक्ति देखाउन ध्वंशको बाटो रोज्यो।

राष्ट्रिय उल्लास र अन्तर्राष्ट्रिय समर्थन पनि हुनाले हिजोको चुनाव जसैतसै भई छाड्थ्यो। अर्को कुरा, खिलराज रेग्मी बालुवाटार छोडेर केही सातामै सर्वोच्च फिर्ता हुने निश्चित छ। चुनावी परिणाम आएपछि अब नयाँ शक्ति समीकरण पैदा हुनेछ। अनि वैद्यले बार्गेनिङ गर्ने भनेको नयाँ राजनीतिक शक्तिसँग हो। त्यसैले उनको विरोधको तात्कालिक समाधान र लाभ दुवै थिएन। यति जान्दाजान्दै शक्ति प्रदर्शन गर्न विध्वंश रोजेर वैद्यले जनताको सद्भाव गुमाए। हुनत चुनाव सम्पन्न भएपति वैद्यलाई पेलेरै राजनीति गर्न अब आउने नयाँ शक्तिलाई पनि सजिलो भने हुनेछैन । त्यस्तै गाह्रो वैद्यलाई छ, हिंसाकै राजनीति गरेर आफ्नो मुद्दा स्थापित गराउन।

यो सबै चुनावअघि नै जान्दाजान्दै वैद्य समूहले हिंसाको सीमा नाघ्यो। 'राज्यशक्तिको दुरुपयोग भएको' आरोप लगाउँदा वैद्य आफैँले राजनीतिक शक्तिको दुरुपयोग गरे। चुनाव पक्षीय दलले समेत अब कहिल्यै बन्द गर्दिन भनेर घोषणापत्रमै कान समाउनुपरेको स्थितिमा वैद्यले १० दिन जनजीवन तहसनहस पारे। तर के–कति कारणले चुनाव जायज छैन भन्ने चित्तबुझ्दो जवाफ जनतालाई दिन सकेनन् । रचनात्मक विरोध त परै जाओस्, ध्वंशको सहारा लिए। युद्धकै बेला पनि निशस्त्र नागरिकमाथिको सशस्त्र आक्रमण युद्ध–सिद्धान्तविपरीत हुन्छ। तर वैद्यले शान्तिकालमै त्यसो गरेर आफ्नो वजन घटाए। अब पनि जनताको धुरी जलाएर आगो ताप्ने अधिकार कुनै राजनीतिक दललाई छैन। देश जलाएर खरानीमा मोज गर्नु साहस हैन, कायरता हो। राजनीतिक चेतना हैन, जनभावनाको अवमूल्यन हो।
---------------------------------------------------------------------------------------------------------

नागरिक राष्ट्रिय दैनिकमा ५ मंसिर २०७० (बुधबार) प्रकाशित। 

No comments: