Monday, March 24, 2014

हिन्दुत्व र नेपाली सेना (Hindutva and Nepal Army)

"सैनिकले धर्म मान्न पाउने अधिकारको सम्मान गरियोस्,
तर सेना आफैँ कुनै धर्मका आधारमा निर्देशित नहोस् ।"

बिहीबार हिन्दु धर्मावलम्बीले महाशिवरात्री मनाउँदैछन्, नेपाली सेनाले सेना दिवस। २३ वर्षदेखि सेनाले मनाउँदै आएको यो दिवस शिवरात्रिमा यस वर्ष संयोगले परेको होइन। नेपालमा सेना दिवस शिवरात्रिकै दिन मनाइन्छ। महिना र गतेको मिति हेरेर हैन, हिन्दु धार्मिक तिथि हेरेर। शिव मन्दिरहरूमा त्यो दिन त्रिशूल सजाइन्छ, डमरु बजाइन्छ।

नेपाली सेनाले पनि डमरु बेरिएको त्रिशूल भएको सांगठनिक चिह्नमुनि सैन्य गतिविधि प्रदर्शन गरी सेना दिवस मनाउँछ। २०६३ सालमा नेपालले धर्म निरपेक्ष पद्धति अँगाल्यो। त्यसपछि राज्य सञ्चालन प्रक्रियामा हिन्दु धर्मलाई आधार बनाउन मिल्छ कि मिल्दैन भन्ने बहस थालिएका छन्। यो आलेख नेपाली सेनाले अंगालेका हिन्दु रीति, तिनको सान्दर्भिकता र अबको बाटोबारे केलाउने प्रयास हो।

कतिपय सभ्यतामा धर्मलाई शक्ति र सौर्यको स्रोत मानिन्छ। देवताहरूलाई सैन्य साहस र पराक्रमको प्रतिविम्ब भनिन्छ। भौगोलिक हिसाबले हामी पनि प्राचीन भारत वर्षमा पर्ने मुलुक हौँ (तथापि अहिलेको भारत र भारत वर्ष फरक हुन्)। महाभारतले दीक्षित गरेको शासक वर्गले सेनालाई धर्मकै एउटा अभिन्न अंग मान्नु अस्वाभाविक थिएन। त्यसमाथि कतिपय हिन्दु देवी भगवतीलाई सामरिक शक्ति भनी चित्रित गरिन्छ। असुरहरूलाई सामान्य रणकौशलले जित्न नसकेको बेला भगवती स्वरूपहरूले पराजित गरेका दृष्टान्त हिन्दु ग्रन्थमा छन्। नेपाली सेनाका प्रायः ब्यारेकमा नित्यकर्मअघि देवीको पूजा गरिन्छ। कतिपयमा मन्दिर छन्। भगवान विष्णुका अवतार मानिने राजाको रक्षा गर्न बनेको र राजखलककै संरक्षणमा हुर्किएको इतिहास हुनाले पनि सेनामा धार्मिक चरित्र धेरै छ।

षट्कोणाकारभित्र डमरु बाँधिएको त्रिशूल (शिवशक्तिको प्रतीक) नेपाली सेनाको आधिकारिक छाप हो। सेनाका कतिपय गणहरूको नाम (जस्तै– युद्धभैरव, कालीबक्स, भैरवीनाथ आदि) ले धार्मिक अर्थ दिन्छन्। यसमा पुरोहितहरूको समेत भर्ती लिइन्छ। त्यसका लागि निर्धारित शारीरिक र शैक्षिक योग्यता (संस्कृत विषयमा) पुग्नुपर्छ। पुरोहित हुन धर्मकर्मबारे छुट्टै परीक्षा पनि उत्तीर्ण गर्नुपर्छ। विजयादशमीको सप्तमीका दिन सेनाको सहभागितामा बढाइ गर्ने र फूलपाति भित्र्याउने गरिन्छ। वर्षेनि महाशिवरात्रिको दिन देशैभरिका पृतना, बाहिनी, गण र गुल्मले विशेष कार्यक्रम गरी सेना दिवस मनाउँछन्। सैन्य विज्ञानसँग हिन्दु धर्मको पनि सम्बन्ध छ। हिन्दु युद्ध विज्ञानले दुईखाले सैन्यशिल्पलाई परिभाषित गरेको छ– नीति आधारित र सौर्य आधारित। यसैले दुईखाले नै युद्धलाई परिभाषित गरेको छ– धर्मयुद्ध (नैतिक लडाइँ) र कूटयुद्ध (कपटपूर्ण लडाइँ)। यसरी हिन्दुत्व आफैँ सैन्यशास्त्रसँग जोडिएको हुनाले नेपाली सेना पनि हिन्दुत्वसँग अन्योन्याश्रित बनेको छ।

केही उदार मुलुकले आफ्ना सेनाका धार्मिक गतिविधिलाई आर्थिक सहयोग गर्छन्। धार्मिक स्रोतसाधनको अभावका कारण कुनै पनि सैनिकलाई उसको धार्मिक आवश्यकता पूरा गर्न अप्ठ्यारो नपरोस् भन्ने यसको उद्देश्य हुन्छ। तर नेपाली सेनाले अभ्यास गर्ने गरेको हिन्दु संस्कार फरक छ। अरू धर्म निरपेक्ष मुलुकले सैनिकको सांस्कृतिक आवश्यकता पूरा गर्न धर्मलाई प्रश्रय दिन्छन्। हामीकहाँ कतिपय प्रशासनिक प्रक्रियामा धर्मलाई नै निर्देशक सिद्धान्त मानिएको छ।

समावेशीकरण सुनिश्चित गराउन नेपाली सेनाले आफूलाई समाजको ऐना बनाउने प्रयास गरिरहेको छ। त्यसैले जुनै पनि धर्म, क्षेत्र, जातजाति र वर्गका जनताले सैनिकका रूपमा भर्ती हुन आवेदन दिन पाउने व्यवस्था यसले गरेको छ। समयक्रमसँगै यो सेनामा विविध जाति र धर्मका मानिसको प्रतिनिधित्व बढ्छ। त्यसमाथि राज्यले धर्म निरपेक्ष पद्धति अँगालिसक्यो। यो बेला सेनाचाहिँ धर्मसापेक्ष भइरहन सुहाउँदैन।
अमेरिकी सेनाले पनि हिन्दु पुरोहित राखेको छ तर पूजाआजाको लागिभन्दा हिन्दु सैनिकहरूको धार्मिक समस्या बुझ्न। धर्मको अनिवार्य अभ्यासविरुद्ध त्यहाँ पनि चर्को बहस छ। खाना खानुअघि निरीक्षकले जवानहरूलाई अनिवार्य प्रार्थना गर्न लगाएको विषय एकताका त्यहाँ विवादित थियो। यसरी धार्मिक मूल्य/मान्यताको अगाडि आफूलाई कसरी पक्षपाति हुन नदिने भन्ने विषय नेपाली सेनाका लागि पनि सोचनीय छ। 
यो चर्चा गरिरहँदा धर्मको राजनीतिक रङमात्रै हेर्नु भूल हुन्छ। किनकि यसको सामाजिक रङ पनि उस्तै प्रगाढ हुन्छ। झन् सैन्य क्षेत्रमा धर्म भनेको मनोवैज्ञानिक शक्ति पनि हो। त्यसैले सैनिकलाई व्यक्तिगतरूपमा धर्म अवलम्बन गर्न दिइनुपर्छ। तर धर्म निरपेक्ष मुलुकको सैन्य संस्थाले निश्चित धर्मलाई संस्थागत गर्नुचाहिँ विरोधाभाषपूर्ण हुन्छ किनकि सैनिक व्यक्ति हो, सेना राज्यको संस्था हो।

अब कुरा आउँछ नेपाली सेनाले हिन्दु धर्मलाई मात्रै काखी च्यापेर अरू धर्मलाई पाखा लगाएको हो त? पक्कै होइन। नेपाली सेनाका ब्यारेकहरूमा मस्जिद, चर्च र बौद्ध स्तुपा पनि बनाइएका छन्। थोरै होलान्, त्यो बेग्लै कुरा हो। तर यो निकै प्रशंसनीय काम हो। दोस्रो प्रश्न आउँछ, हिन्दु धर्मावलम्बी सैनिक नै धेरै भएको सेनामा मन्दिरहरू बनाउँदा वा पूजाआजा गर्दा के बिग्रियो त? भ्रम यहाँनेर छ।

धर्म निरपेक्ष भनेको सबै धर्मलाई समान माया गर्ने र सहयोग गर्ने राजनीतिक पद्धति होइन। यो कुनै पनि धर्मप्रति राज्यले सम्बन्धन नराख्ने तटस्थ संस्कार हो। राज्य भन्छ, जनता जुनै पनि धर्ममा रमाऊ, राज्यलाई आपत्ति छैन। तर राज्य आफैँले मन्त्र जपेर राजकाजमा धर्मलाई छिराउँदैन। गत संविधानसभामार्फत् हामी त्यही धर्म निरपेक्ष राजनीतिक पद्धतिमा छिरेका हौँ।

सेनामा धर्मको प्रभावलाई घटाउने कसरी त? नेपाली सेनाको सांगठनिक इतिहास दुई सय वर्षभन्दा पुरानो छ। यतिका वर्षसम्म हिन्दु अधिराज्यको सेना रहेकाले पनि उसलाई धार्मिक चरित्रबाट तत्कालै मुक्ति पाउनु गाह्रो छ। शताब्दीदेखि धर्मलाई शक्तिको स्रोत मान्दै आएको सैन्य संस्थालाई एकैचोटि हिन्दुत्व छोड भन्नु व्यावहारिक हुँदैन। ब्यारेकभित्रका मन्दिरहरू धमाधम हटाउने, गण र गुल्मका नाम परिवर्तन गर्ने र हिन्दुत्वसँग जोडिएका सैन्य संस्कार तत्कालै त्याग्नु विवेकसम्मत हुँदैन। यसले तिनको सैन्यधर्ममाथि ने खलल पुर्यािउँछ। तर नेपाली सेनाले धार्मिक तटस्थताबारे विस्तारै सोच्नुपर्ने बेला भइसकेको छ।
सैनिक जीवन आमनागरिक जीवनभन्दा फरक हुन्छ। एउटा सैनिकले ब्यारेक वा युद्ध मैदानको सीमित घेरामा रहेर मुलुक र जनताको सेवा गर्नुपर्छ। त्यो बेला व्यक्तिगत आस्थालाई जोगाइराख्ने धार्मिक स्रोतसाधन उपलब्ध नभए उसको कार्यक्षमता ह्रास हुन सक्छ। उसलाई धार्मिक स्रोतसाधन उपलब्ध गराउनु कार्यक्षमता अभिवृद्धिकै एउटा पाटो हो। त्यसैले सैनिकहरूको धार्मिक अभ्याससम्बन्धी व्यक्तिगत स्वतन्त्रता प्रत्याभूति गर्ने काम सेनाको हो। यसका लागि सेनाले आफ्ना सैनिकलाई हिन्दु, बौद्ध, मुस्लिम वा क्रिश्चियन धर्म मान्न विभिन्न व्यवस्था गरेको हुन्छ।

तर हाम्रो सेना जसरी समष्टिगत संस्थाले नै हिन्दु धर्ममा आधारित भएर साइत हेर्ने, विशेष देवीको अर्चना गर्ने, धार्मिक चित्र र विम्बलाई आफ्नो संगठनको प्रतीक बनाउने गर्दा ऊ पक्षपाति हुन्छ। गैरहिन्दु सैनिकहरूले यसमा अपनत्व महसुस गर्न सक्दैनन्। यो निरपेक्षताको सम्मान पनि होइन। त्यसैले सैनिक जवानलाई धार्मिक सुविधा दिनु र सेना आफैँले धर्मकर्म गर्न थाल्नु नित्तान्त फरक विषय हुन्। पहिलो खाले अभ्यासले सैनिक जवानलाई सहजता दिन्छ, दोस्रोले सेनालाई पक्षपाती बनाउँछ। त्यसैले नेपाली सेनाले सैनिकलाई चाहिँ धार्मिक सहजता दिँदै संस्थाले चाहिँ धार्मिक तटस्थता अँगाल्नुपर्छ। सैन्य प्रशासनमा हिन्दु धर्मको भूमिकालाई अहिल्यै हटाउन नसके पनि घटाउँदै लानु जरुरी छ।
------------------------------------------------------------------------------------------------------------

नागरिक राष्ट्रिय दैनिकमा १३ फागुन, २०७० मा प्रकाशित।

No comments: