Thursday, August 14, 2014

हरियो सेनाको कालो इतिहास (A Black History of the Green Nepal Army)

इतिहास आफैंमा विवादास्पद विषय हो। विन्स्टन चर्चिलले भनेका छन्, ‘हाम्रा इतिहास विजेताहरूले लेखेका दस्तावेज हुन्।' प्राचीन सामरिक इतिहासमा विजेताहरूको स्तुतिगानको गन्ध आउँछ। अलेक्जेन्डरदेखि नेपोलियनसम्मका इतिहासमा भएका पूर्वाग्रहका पर्दा अहिले बल्ल खुल्दै छन्। सैनिक इतिहास त विजेता र वरियताकै इतिहास हो। यिनलाई पूर्वाग्रहको संग्रह भन्न सकिन्छ। तर नेपालको सैन्य इतिहासलाई वैकल्पिक दृष्टि दिने प्रयास भएको छ ‘ती सैनिक' पुस्तकमार्फत। 

मोहन थापाले लेखेको यो पुस्तक मृत्युदण्ड दिइएका, हत्या गएिका र आत्महत्या गर्न विवश पारिएका नेपाली सैनिकबारेको आख्यान हो। पुस्तक नेपाली सैनिक इतिहासका निकै कारुणिक कथाले भरिएको छ। काजी भीमसेन थापाको नेतृत्व नेपाली सेनाको आधुनिकीकरणमा स्वर्णयुग थियो। तर तिनकै मृत्युको प्रसंगले पाठकलाई मर्माहत बनाउँछ। आत्महत्याको प्रयासपछि विष्णुमती किनारमा फालिएको आठ दिनसम्म उनको प्राण उडेको थिएन। अन्तिम सास छोडेपछि उनको शरीरका अंगहरू स्याल, कुकुर र गिद्धले खाएका थिए। 

राजा प्रताप मल्लको आदेशमा काजी भीम मल्ललाई राजदरबारको मूलद्वार छिर्नै लाग्दा काटिएको थियो। आफ्ना सेनापति निर्दोष थिए भन्ने पछिमात्रै थाहा पाउँदा राजा प्रताप मल्ललार्ई न्याउरी मारी पछुतो भएको थियो। पछि राजाले त्यो पाप पखाल्न भूलखः देगः को मूर्ति खडा गर्न लगाए। भीम मल्लकी श्रीमतीले सती जाँदा देशलाई नै श्राप दिइन्। तर यहाँ लेखक झ्वाट्टै भावनात्मक भएका छन्। सतीश्रापले नै यो देश बिग्रेको होला भनी सुस्केरा फेर्छन्। समाज विज्ञानको महत्वपूर्ण पुस्तकमा लेखक यति भावुक भएको अलि सुहाएको छैन। पुस्तक कतैकतै कथानक लाग्छ। केही ठाउँमा वासु पासा र एसपी आशाका उपन्यासलाई स्रोत मानिएको छ। तर औपन्यासीकरण गरिँदा इतिहासमा फेरबदल हुन सक्छ। उपन्यासलाई आधार मानेर पात्रको चरित्र विश्लेषण गर्नु विधिसम्मत देखिँदैन।


नेपालका कतिपय इतिहास शासक वर्गले लेख्न लगाएका थिए भनी पुस्तकको भूमिकामा इतिहासकार तुलसीराम वैद्यले खुलाएका छन्। त्यसैले तिनलाई तत्कालीन परिप्रेक्ष्य र पात्रहरूको पृष्ठभूमिसँग जाँचेर पुनर्मूल्यांकन गरिनुपर्छ। इतिहासका रहस्य खुल्न समय लाग्छन्। वा कुनैकुनै रहस्य कहिल्यै नखुल्न सक्छन्। जस्तै भीम मल्ललाई कसले मार्न अह्राएको हो भन्नेदेखि गगनसिंहको हत्या कसले गरेको भन्नेमा इतिहासकारहरू आफैं द्विविधामा छन्। पुस्तकमा उल्लिखित धेरै घटनामा दाबी गरिएका सत्यले पनि भोलि असत्य वा अल्पसत्य ठहर्ने हक राख्छन्। त्यसैले पाठकले सन्तुलित दृष्टिले पुस्तक पढ्नु आवश्यक छ।

कतिपय ठाउँमा पाठकले लेखकसँग विमति राख्न मिल्ने ठाउँ छन्। जस्तै, जयन्त रानाले पूर्वगोर्खा कमान्डर भएर पनि कान्तिपुरसँग मिलेर गोर्खाविरुद्ध नै युद्ध छेडे। नैतिकताको हिसाबले यो देशद्रोह नै थियो। त्यसैले पृथ्वीनारायण शाहले रानालाई सजाय दिनु स्वभाविक ठहर्छ। तर लेखकले रानाको व्यक्तिगत अवस्थाप्रति सहानुभूतिमात्रै देखाएका छन्।

विषयगत हिसाबले बलियो पुस्तक प्राविधिक हिसाबले कमजोर छ। अत्यावश्यक तर मूल अनुच्छेदमा नसमेटिने विवरण खुलाउन पादटिप्पणी (फुटनोट) को प्रयोग गरिन्छ। तर कति ठाउँमा त दुई पृष्ठको परिच्छेदमा छ पृष्ठ लामो पादटिप्पणी छ। त्यस्तै, उपयोगी भए पनि परिशिष्टांक ५० पृष्ठ लामो छ। यसरी संगठनको हिसाबले पुस्तक अलि काँचो र भद्दा देखिएको छ। पुस्तकको लेखनमा मिहिन ध्यान दिए पनि प्रकाशन प्रक्रियामा अलि ध्यान नपुगेको देखिन्छ। छपाइ कमजोर छ। दायाँ–बायाँ मार्जिन निकै कम देखिन्छन्। हिज्जे र विन्यासमा थुप्रै त्रुटि छन्, तथापि शब्द चयन प्रशंसायोग्य छ।

लेखक आफैं पूर्वसैनिक हुन्। उनी सैनिक पेसाको गौरव गुन्गुनाउँछन् (जस्तै, विषयप्रवेश खण्डमा)।  सैनिकप्रति सहानुभूति र आग्रह देखाउँछन्। तर सेनाको पेसागत कमजोरी, संवेदनशीलता र जोखिमको चर्चा गर्न बिर्सन्छन्। यसले लेखनको तटस्थतामा प्रश्न उब्जाउन सक्छ। लेखकले इतिहासकालमा सैनिकलाई दिइएका मृत्युका सजाय उपयुक्त थिए/थिएनन् केलाउने जिम्मा पाठकलाई नै छोडेको छु भनेका छन्। तर पुस्तकमा उनी पटकपटक भावनामा बहकिन्छन् र भन्छन् तिनलाई अन्यायमा पारिएकै थियो। त्यति बेला उनको प्राज्ञिकभन्दा सैनिक अनुहार पानाभरि झल्किन्छ।

हुन त राजसंस्था सेनाको अविच्छिन्न अभिभावक थियो। तर सदियौंसम्म सेनालाई शाही सत्ताधारीले राज्यारोहणको भर्यालङ बनाए। शासकहरू माथि पुगे, तर सेना नायकहरू काटिए, मारिए वा मर्न विवश बनाइए। पृथ्वीनारायण शाहदेखिका धेरै सेना प्रमुख कालगतिले मर्न पाएनन्। ‘तेरो हत्या गरिनेछैन' भनी अभयपत्र थमाई प्रवासबाट शासन सम्हाल्न ल्याइएका माथवरसिंह थापालाई पनि गोली हानियो। नमरेपछि राजा राजेन्द्रले नै हात काटेर छातीमा तरबार रोपिदिए। लासलाई झ्यालबाट फ्याँकिदिए। यसरी नेपालको सैन्य इतिहास कपट, कुण्ठा, सर्ग र स्पर्धाले अमिलिएको छ। तर यो धमिलो इतिहास उज्यालो भविष्य खोज्ने अहिलेको सेनालाई पाठ बन्न सक्छ। 

नेपाली सैन्य इतिहासका पुराना पुस्तकमा शासकका गौरवगाथा गाइएका छन्। राजारानीबाट काटिनु र मारिनुलाई स्वभाविक रूपमा प्रस्तुत गरिएको छ। तर लेखकले छोटो पुस्तकमै नेपाली सेनाको इतिहास सरल र बोधगम्य भाषामा खुलाएका छन्। सैन्य अध्ययनमा चासो राख्नेहरूको लागि यो पुस्तक वैकल्पिक कथनी हो। पुस्तकमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व, टिम्बुरबोटे काण्डदेखि नारायणहिटी काण्डसम्मका वृत्तान्त समेटिएको छ। भारदारहरूबीचको शक्तिसंघर्षमा घुनझैं पेलिएका सैनिकहरूको व्यथा छ। यस्तै चारपाटा मुड्ने, जनै, तामा, तुलसी छोएर कसम खुवाउने र सैनिक विद्रोह भएका प्रसंगले ऊबेलाको सेनाबारे बुझ्न सघाउँछ। लेखकले स्रोतहरूको खोजी र अध्ययन गर्दा पाखुरा धेरै धसेका छन्। निश्चय नै त्यो श्रमको मूल्य पुस्तकबाट उठ्ने रकमले तिर्न सक्दैन। यो उनलाई पक्कै थाहा थियो। तर उनी प्रतिफल आशा नगरी साधना खर्चिने लेखक हुन्। त्यसैले यो पुस्तकलाई व्यावसायिक रूपले परिपक्वभन्दा पनि विषयगत दृष्टिले संग्रहणीय पुस्तक मान्न सकिन्छ।

प्रकाशक : शारदादेवी खड्का
पृष्ठ : ३४८+१८
मूल्यः ४५० रुपैयाँ

नागरिक राष्ट्रिय दैनिकअन्तर्गत 'अक्षर'मा १४ असार २०७१ मा प्रथम पटक प्रकाशित। 

No comments: