Sunday, August 23, 2015

पाठक-लेखक सम्बन्धको वाणिज्यकरण

मनपर्ने लेखक कतै भेटिएर पुस्तकमा हस्ताक्षर गराउनु बेग्लै कुरा होला । तर "लौ पुस्तक किन्दा अटोग्राफ सित्तैमा" भनेजसरी माइक फुकेर बोलाउँदा पुँजिवालले पाठक-लेखक सम्बन्धलाई वाणिज्य सम्बन्धमा बदलिदिएजस्तो लाग्छ । हिजो भृकुटीमण्डप किताब मेलामा प्रिय लेखक नगरकोटीको 'मिस्टिका' किन्न पुग्दा यस्तै दृश्य देखेँ । नियोजित अटोग्राफ लिने कार्यक्रमले पाठक-लेखक सम्बन्धलाई क्रेता (पाठक)-बिक्रेता (पुँजिवाल)-प्रवर्द्धक (लेखक) सम्बन्धमा रूपान्तरण गरेजस्तै लाग्यो । नगरकोटी सबैलाई हस्ताक्षर गर्दै, पुस्तक दिँदै, फिस्स 'एयरहस्टेस स्माइल' दिँदै थिए । लेखक, पाठक र पुस्तक तीनओटै वस्तुकृत भएजस्तो लाग्यो । मैले नगरकोटीको अनुहार एकछिन हेरेँ । पैसा गनिरहेकी पसलेलाई पनि हेरेँ । मञ्चन भइरहेको दृश्यको पात्र बन्न मन लागेन । अन्तमा पुस्तक नकिनी फर्केँ । (खै, म गलत पनि थिएँ होला ।)

No comments: