Sunday, October 18, 2015

[कथा] पल्सर पुछ्ने केटी

ऊ मायाले औँलाहरू खेलाउँथी, पल्सरका अंगअंगमा । काम सकिँदा चम्कन बाँकी कुनै ठाउँ रहन्थेनन् । जब काम गर्थी, एउटा योग्य पियानोवादकले झैँ औँलाहरू चलाउँथी । म निर्निमेष हेरिरहन्थेँ । पुछिसकेपछि ऊ एकचोटि मोटरसाइकलमाथि चढ्थी । आहा ! उसको दिनकै सर्वोत्तम खुसीको समय होला त्यो । थाहा छैन, पल्सरमाथि चढेर केटी भाग्यमानी हुन्थी अथवा केटीलाई आफूमाथि चढाएर पल्सर भाग्यमानी । लाग्थ्यो, उसले हरेक पल्सरमा अतुलनीय पुरुषत्व भेट्थी । यस्तो कि अहिलेसम्म नभेटिएको जीवनसाथीको पुरुषत्वजस्तै । केटी अविवाहित मात्र होइन, कुमारी पनि छेजस्तो लाग्थ्यो । किन लाग्थ्यो थाहा भएन । तर, सर्भिसिङ सेन्टरकी त्यो केटी मैले जीवनमै यति मिहिन नियालेको एउटै केटी थिई । सम्बन्ध त अभिवादनको मात्रै थियो । केटीमाथि पनि मेरो उस्तो आकर्षण थिएन । तर, अर्थोक होइन, पल्सर पुछ्दा उसले देखाउने आत्मीय कलामाथि मैले गहिरिएरै सोच्न थालेको थिएँ । ऊ अरू बाइकसँग त्यति भुल्दिनथी, जति पल्सरसँग भुल्थी । ऊ अरू बाइकका हरेक अंग उति नै सुन्दर बनाएर पखाल्दिनथी, जति सुन्दर पल्सरहरूलाई बनाउँथी ।
*** 
त्यो दिन मैले उसलाई सर्भिसिङ सेन्टरमा पहिलोपटक देखेको थिएँ । चाबी बाइकमै थियो । म दर्ता कक्षबाट निस्किँदा बाइकलाई उप्रान्त कर्मका लागि कसैले भित्र हुल्दै थियो । हेरेँ, एउटी केटी रै’छ । मौसम नखुले पनि उसको मुहारमा कान्ति खुलेको थियो । केटीमा हुने औसत शारीरिक सुन्दरता सबै थिए । ऊ बडो मिहिनेत र मायाले मेरो बाइक डोर्‍याउँदै थिई ।
“सघाइदिऊँ बैनी ?” मैले बोली फुटाएँ ।
“किन तपाईंको बाइक हो र ?”
“कसरी ठ्याक्कै पार्नु’भो ?”
ऊ निर्भय आवाजले हाँसी, “अरूको बाइक तान्न त कसले सघाउँछ र ?”
धत्, स्वार्थी नै रै’छु भन्ने लाग्यो ।
***

प्रत्येक महिना ऊ नयाँ लटका पल्सर पुछ्दै उजिल्याउँथी । तर, क्यालेन्डरको बाह्रौँ पत्र फेरिँदा उसका आकांक्षाको आकाशमा बाह्रै बादल मडारिन्थे । तलब सम्झिन्थी । अनि सम्झिन्थी ढल्कँदै गएको उमेर र अभिभावकविहीन घर । उसलाई राम्री भन्नु झूट हुन्छ । भनिहालेँ नि, औसत नारीकै सुन्दरता हो । तर, कुन्नि के हो आकर्षण ? बत्तीमा बरू त्यति पुतली झुम्मिन्थेनन् होला, यी पुतलीको वरिपरि धेरै कामदार बत्ती चम्किएझैँ झुम्मिन्थे । जिस्काइएकामा उसलाई आनन्द लाग्थ्यो/लाग्थेन तर जिस्काउन पाएर अरूचाहिँ आनन्दित देखिन्थे । म्यानेजरसमेत यी घटनाले काममा ऊर्जा थप्ने ठान्थे ।
बाइकलाई भित्र हुलेर ऊ पूर्ववत् स्थानमा फर्की । मैले आँखा जुधाउन खोजेँ । उसले पसिनै नआएको निधारलाई देब्रे पाखुराले पुछी । अनुहार छेक्न खोजी भन्ने लाग्यो । तर, झसंगै पार्ने उही निर्भय आवाज सुनेँ, “ओ दाइ, कस्तो बाइक ल्या’को ? गर्लफ्रेन्ड छैन क्या हो ?”
“किन ?” मैले प्रतिप्रश्न गरेँ ।
“पछाडिको सिटमा खिया पर्न थालिसकेछ त !” व्यंग्यले तीरै प्रहार गरी ।
तर, बाठो भएर उत्तर फर्काएँ, “धत् बैनी, लेदरको सिटमा’नि कहीँ खिया लाग्छ र ?”
मेरो बोली भुइँमा नझर्दै उसले प्रतिप्रहार गरी, “लामो समयसम्म काममा नआएपछि त खिया लेदरमै लाग्छ दाइ !”
“कति जानेकी हो बात मार्न ?” मैले मनमनै भनेँ ।
***
एउटा अर्को दिन । बिहानै बाइक छोड्दा उसलाई देखेको थिइनँ । तर, साँझपख पल्सरसँगै लहसिएकी देखेँ । ऊ बाइकलाई यसरी पुछ्थी, मानौँ कि पुछिरहेकी हैन, सुम्सुम्याइरहेकी छ । के जादू, के जादू ! छिनमै निर्दाग चम्काइदिन्थी । मानौँ वेक्स चाहिन्नथ्यो चम्काउन, उसको स्पर्श काफी थियो । केटी आज पनि मिहिन ध्यानले पुछ्दै थिई । अपूर्व मायाले घरि अयल टयांकमा रुमाल मुसार्थी, घरि लेगगार्डमा सुनिर्मित औँलाहरू फिँजार्थी । सत्य ! यसरी पुछ्थी कि मानौँ पल्सर पाउने हो भने ऊ चढ्दिनथी, बरू सिरक ओढेर त्यसलाई गम्लंग अँगालो हालेर सुत्थी । मेरा मस्तिष्क के­­–के मात्र भावनाले स्खलित हुन्थे, म भन्न सक्दिनँ ।

निहुरिएर बाइक पुछ्दा छोटो टिसर्टले उसको मेरुदण्डको तल्लो भागलाई ढाक्न आनाकानी गर्थ्यो । वर्कसपको छानोबाट हाम फालेर घामको किरण त्यही नछोपिएको भागमा खसेको थियो । बहुतै प्रीतम यो दृश्य मैले नदेखेजस्तो गरेँ । बादलबिनाको निर्वस्त्र घाम पिठ्यूँभरि पोखिँदा पनि उसलाई घामको मतलब थिएन, कामको थियो । नजिकै पुगेँ । उसले भनी, “ए तपाईं ? त्यै हैन बाइक ?”
“त्यै हो बैनी ।”
“फेर्नुभा’को त छैन ?”
“केलाई फेर्नु ? काम चलिरा’छ ।”
फोममा थोरै वेक्स चुहाउँदै भनी, “पल्सर किन नलिनुभा’को ? हेर, खाइलाग्दो मान्छेलाई त वानएट्टी किस्सिम सुहाउँथ्यो ।”
अचानक मलाई आफ्नो पुरुषत्वमै प्रहार भएजस्तो लाग्यो । एउटी युवतीले पल्सर किन नकिन्नुभएको भन्दा शरीरको कुन हो कुन भाग एकदमै असजिलो भएर आयो । केही बोलिनँ । आफ्नो बाइक हेरेँ । चोथालेले मेरो त राम्ररी नै पुछिनछ । फेरि पुछ्देऊ भन्न पनि लाज लाग्यो । मलाई थाहा थियो मेरा हर आवश्यकता पूरा गर्न अहिलेको बाइक सक्षम छ । यद्यपि, आफ्नो हिम्मत र ह्याउ बजारिया हाँक जितेको बाइकले मात्रै स्थापित गर्दो रहेछ भन्ने भ्रमले मडारिरह्यो ।
***

कर्मचारीहरूसँग राम्रै चिनजान हुनाले वर्कसपमा मेरो आऊजाऊ बारम्बार भइसकेको थियो । आज पनि बिनानिहुँ छिरेँ । एउटी युवतीलाई उनको स्कुटीबारे गेटमै सोधपुछ गरियो । सायद अर्कै कम्पनीको थियो । व्यापारिक शत्रुता कडा थियो । कामदारहरूले कुनै दिन मलाई भनेका थिए, “दाइ, योसिवाय अरू कम्पनीको बाइक त छिर्नै दिँदैनौँ ।” मुस्किलले युवती छिरी । रातो चुडीदार कुर्थासुरुवाल । रातै चुरा । अनि, बिस्तारै हेल्मेट खोल्दै गर्दा देखिएको रहरलाग्दो सिन्दूरको धर्का । बाइक धोइदिने मेरी केटीले ती युवतीलाई अवाक् भएर हेरी । केटीका आँखा बिछट्टै अचल थिए । केटी युवतीलाई हेर्दै थिई, म केटीलाई । युवतीचाहिँ कता हेर्दै थिई हामी दुवैलाई थाहा भएन । केटीले परेलीसमेत झिमिक्क पारिन । मानौँ उसले नदेखेको सिन्दूरको रङ जीवनमा पहिलोपटक देख्दैछे । यस्तो लाग्थ्यो, केटीको शरीरका कुनै पनि अंग चलेका छैनन् । मानौँ, ऊ मध्यबजारमा उभ्याइएकी कामाक्षी मूर्ति हो । ममा उत्कण्ठा र सर्गका एक हुल हुरी चल्न थाले । अन्तस्करणदेखि नै केटीको माया लागेर आयो । ती विवाहिता खुरुक्क विलय भइदिए हुने । म त्यतिबेला केटीको मनमा उर्लेका भाव सजिलै बुझ्न सक्थेँ । केटी भएतिर युवती झन् नजिकिई । ‘बैनी, चवन्न चौबीसको टू–ट्वेन्टी लिएर आउने मेरो हज्बेनलाई देख्यौ ?’
‘आफ्नै हज्बेनलाई आजसम्म नदेखेकी विचरीले अरूको हज्बेनलाई कसरी देख्थी?’ मैले मनमनै जवाफ फर्काएँ, ‘देखे पनि चिन्नु कसरी?’ यहाँ टू–ट्वेन्टी त दुनियाँले भित्र्याउँछन् ।
‘हज्बेन’वाला प्रश्नपछि सायद केटीलाई खपिनसक्नु भयो । केटी हुर्रिई । भाग्यको तीव्र हुरीले उडाएको पातजस्तै । बाथरुम गएकी रै’छ । मुख धोइछ, कपालको अघिल्लो भाग पनि चिसै थियो ।
***
“एकाउन्न छपन्न,” बाइक नम्बर टिपाएँ । “चाबी बाइकमै राख्दिनूस् । ४ बजे आउनू ।” उसले एकै सासमा भन्यो ।
“४ बजे मात्रै ?”
“अझै बढी लाग्ला दाइ, दसैँको समय छ ।”
भन्ने कुरै केही रहेन । हेल्मेट छोड्नुअघि स्टिकर टाँस्न लगाएँ अनि दर्ता कक्षबाट बाहिरिएँ । आज मेरी केटी निकै मुडमा देखिन्थी । ‘डू यू वाना पार्टनर, बी अ पार्टनर...।’ कसैले रस थपिदिन्छ, “के हो पुतली ? मंसिर त आ’छैन ?” फिस्स हाँसेर टारिदिई । भन्थी पो कसलाई ? सुनाउनु कोसँग ? मरुभूमिको सिउँडीले तिर्खा लाग्यो भने कसलाई सुनाउँछ र ? अचेल केटी मसँग गफिन थालेकी थिई । यसपालि काठमाडौँमा एकै वर्ष १२ लटभन्दा धेरै मोटरसाइकल भित्रिएछन् । सुरुसुरुमा उसले पुछ्ने नयाँ बाइकहरू ५९ को लटका हुन्थे रे ! अचेल तँछाडमछाड गर्दै ७१ का देखिन थालेका छन् । यो बीचमा धेरैले बाइक फेरे अरे तर तपाईं सधैँ किन पुरानै भन्थी । केटीले बुढी औँलाले सेल्फ थिची, “लौ हेर दाजुको साइलेन्सर त नरसिङ्गाझैँ बज्दो रै’छ । कस्तो डिस्टर्बिङ !” कुरो तेर्स्याइहाली ।
“दाजुको साइलेन्सर हैन बैनी, बाइकको साइलेन्सर ।” सधैँझैँ बाठो पल्टन खोजेथेँ तर यसपालि ऊ हाँसी मात्रै ।
मैले त्यही हाँसो निमोठ्न खोजेँ, “योभन्दा नि सुरिलो बाजा सुन्नलाई त लहना नै जुराउनु नि !”
“कसले गर्छ र मोटरसाइकल पुछ्ने केटीलाई बिहे ?” उसले हो त नि भन्ने पारी । “कसलाई मन पर्दैन रहरलाग्दो सिन्दूर, चुरा र पोते ? तर, तपाईं पनि कलिली र ठाँटिली नै रोज्नुहुन्छ होला क्यारे । पूरा साइजफिटेड । नामुद बाइकजस्तै: ३६-२४-३६ ।” ऊ बेस्मारी हाँसी ।

त्यसपछि बजारमा ३६-२४-३६ का धेरै केटीहरू देखेँ । तर, उसलाई कहीँकतै देखिनँ । बिनानिहुँ वर्कसप पनि धेरैचोटि धाएँ । तर, कसैलाई केटीको वारिस सोध्ने हिम्मत राख्न सकिनँ । बिमार पो परी कि ? जागिरै छोडी कि ? तर्कनाहरू जन्मिन थाले । भित्तामा झुन्ड्याइएको क्यालेन्डरका पन्ना फेरिए । एक–दुई त ऋतु नै फेरिए । वर्कसपमा देखिने नयाँ लटका बाइकले मेरो बाइक झन् पुरानो बनाउँदै थिए । तर, यस्तो लाग्थ्यो कि हरेक नयाँ पल्सरहरू एक्लिएका थिए ऊबिना ।
***
ती शरद्मासका लामा दिन थिए । सुन्तला रङले आकाश पोतिएको एउटा साँझ । घामले पनि डुब्न आनाकानी गरिरहेको थियो । साँझको ६ बजे । भित्तेघडीका सुइले घडीलाई ठ्याक्कै आधा बनाएर चिरेका थिए । अचेल उसलाई देख्छु भन्ने आशा रत्ति हुँदैनथ्यो । वर्कसपबाट बाहिरिएँ । त्यो ठाउँ कति हरियाली थियो । अचेल ओइलिएको पातले जस्तै म हाँगा छाडेर टाढिँदै थिएँ । सडकमा निरुद्देश्य टहलिन मन लाग्यो । पेटीमा स-साना ढुंगालाई अल्छि पाराले लात्ती हान्दै हिँड्दै थिएँ । पानीको बोतल पल्टिएको देखेँ । त्यसलाई पनि बलझैँ के हानेको थिएँ, हुत्तिएर एउटा रातो सलवारमा ठोक्किन पुग्यो । सलवारवालीे कसैले बोलाएजस्तै गरी पछाडि फर्की । म झसंग भएँ । मानौँ चलचित्रमा हठात् नसोचेको दृश्य आएको छ । त्यो मेरी केटी थिई । मेरो मतलब वर्कसपकी केटी । छेउ लाग्यौँ । ऊसँग सधैँभन्दा लामो कुरा भयो । त्यस्तै ६ मिनेटजति । वर्कसपमा त हामी छोटा र छिटा वाक्यहरू मात्रै बोल्थ्यौँ । बाँकी समय म उसका गतिविधि हेरी मात्रै रहन्थेँ ।

पहिला त ऊ हराउनुको कारण सोधेँ । उसले व्यक्तिगत कारण जनाई । सन्चो–बिसन्चोका औपचारिक प्रश्न पनि साटेँ । बिरामी भएकी हैन रै’छ । चप्पल राम्रा थिए । कुर्ता–सुरुवाल झनै मिलेका । अरूमा त त्यति ध्यान गएन तर अक्सर आँखाहरूतिर हेर्थें । बाक्लो गाजल । धारिलो नजर । ऊ हतारमा जस्तै देखिन्थी । मैले ‘लौ त नि’ भनेँ । तर, छुट्ने बेलामा एउटा कुरा भन्नचाहिँ छुटाइनँ, “ए बैनी ! सुन त । मैले पल्सर किनेँ नि !” केटी मुस्कुराई । अनि बिस्तारै बायाँ भागको कपाललाई चार औँलाले सुस्तरी माथि सारी । यो पटकचाहिँ म राम्रैसँग झस्केँ । अरे ! केटीले त सिन्दूर लगाएकी रै’छ । उसले चोर औँला र माझी औँलाले बडो कुशलतापूर्वक तिलहरी खेलाई । मेरो मुटुमा तीर हान्ने ती नजर आज रातो तिलहरीतिर मात्रै थिए । उफ् ! मैले मात्रै पल्सर किनेको हैन रहेछु । सायद, उसले पनि अब आफ्नो जीवनको पल्सर पाइसकी । ऊ अचेल कस्तरी पुछ्दी हो, कस्तरी चढ्दी हो नयाँ पल्सर ? म रातभरि निदाउन सकिनँ ।
***
नेपाल साप्ताहिकको दशैँ  विशेषांक (३० आश्विन २०७२) मा  प्रकाशित । 

No comments: